प्रसाईंलगायत ३९ जनाको थुनछेक बहसको आज अन्तिम दिन, आजै फैसला आउने

होमल्याण्ड खबर

२०८२ जेष्ठ ३० गते, बिहीबार १२:०२ मा प्रकाशित

गत चैत १५ गते तीनकुनेमा राजावादीहरुको प्रदर्शनका क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंलगायत ३९ जनाको थुनछेक बहसको आज अन्तिम दिन हो । आज काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका सरकारी वकिलहरूले जवाफ दिँदैछन् ।

प्रतिवादीतर्फका कानुन व्यवसायीले बहसमा उठाएको विषयहरूमा काठमाडौंका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेसहित चार जनाले जवाफ दिँदैछन् ।

मेडिकल व्यवसायिक प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमन श्रेष्ठ, डा.सुरेन्द्र भण्डारी, टंक दुलाल, डा.भीमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, सुशील पन्त, लवकुमार मैनाली, अधिवक्ता दीपेन्द्र झा, रेनुकादेवी सिटौला, दिवस खड्गी, लवान न्यौपाने र अधिवक्ता मनिष पाण्डेले बहस गरेका थिए ।

सरकारी वकिलले जवाफ दिएपछि प्रतिवादीलाई थुनामा पठाउने वा रिहा गर्ने भन्ने आदेश आउने छ । आजै फैसला आउन सक्ने बताइएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधिश ध्रुवराज कार्कीको इजलासमा थुनछेक जारी छ । राज्यविरुद्ध र ज्यानसम्बन्धी कसुरका ५० जना प्रतिवादीहरूमध्ये प्रसाईंसहित ३९ जना थुनामा छन् ।