रिटायर्ड हुनुअघि पार्टीलाई एक बनाउने इच्छा छ : देउवा

होमल्याण्ड खबर

२०८२ असार १३ गते, शुक्रबार १६:१५ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनैपनि पार्टीलाई बहुमत ल्याउन कठिन हुने धारणा राखेका छन्।

नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको प्रजातन्त्र सेनानी स्व गौरीदेवी प्रधानको सातौं दिनको पूण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभामा उनले अहिलेको संविधानमा समावेशी र समानुपातिक व्यवस्थानले कुनै एउटा दललाई बहुमत ल्याउने अवस्था नहरेको उल्लेख गरे ।

नेपाली कांग्रेस बलियो बनाउने बाहेक अन्य सोच आफूमा नरहेको उनको भनाइ थियो । उनले भने, “यही यही पार्टीको सभापति भए, पार्टीकै कारण पटक–पटक प्रधानमन्त्री पनि भएँ, पार्टीलाई मुलुकभर बलियो बनाउने बाहेक मेरो कुनै उद्देश्य छैन ।”

निर्वाचनमा एक जनाले मात्र टिकट पाउने भएकाले टिकट नपाउनेले पाउनेलाई सहयोग गरेर अघि बढ्न सके पार्टी बलियो हुने उनको भनाइ थियो ।

देउवाले आफ्नो राजनीतिबाट रिटायर्ड हुने बेला आएको बताएका छन्। रिटायर्ड हुँदैगर्दा पार्टीलाई एक बनाउने इच्छा रहेको उनले बताए।

‘पार्टीमा टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ। हाम्रो पार्टीको रोग नै यही हो। हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ,’ देउवाले भने, ‘म रिटायर्ड हुन लाग्या छु। यो पार्टीलाई एक बनाउने इच्छा छ।’