संवैधानिक इजलासको रिट खारेज, ५२ पदाधिकारीको पद जोगियो

होमल्याण्ड खबर

२०८२ असार १९ गते, बिहीबार १०:५७ मा प्रकाशित

 संवैधानिक इजलासको बहुमतले रिट खारेज भएकाे छ । साढे चार वर्षदेखि विचाराधीन संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज गरेको हाे ।

संविधानका दृष्टिले ठीक कि बेठीक भन्नेबारे सर्वोच्च अदालतले बुधबार निर्णय सुनाउने गरी तोकिएको पेसीको संवैधानिक इजलासले सुनुवाइ गर्दै रिट खारेज गरेको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा यो मुद्दा गत जेठ २८ गतेको आदेशअनुसार पेसी तोकेकोमा उक्त रिट खारेज गरेको हो ।

यसअघि मंगलबारका लागि पेशी तोकिएको उक्त मुद्दामा मंगलबार प्रधानन्यायाधीश राउत, वरिष्ठतम न्यायाधीश मल्ल र न्यायाधीश नहकुल सुवेदी इजलासमा बसेनन् । इजलासका अन्य सदस्य न्यायाधीश चुडाल र शर्माले भने मंगलबार मुद्दाहरू हेरेका थिए  ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्ले संविधान संशोधन गर्दै अध्यादेशमार्फत २०७७ माघ २१ र ३२ गते, २०७८ असार १० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसहित विभिन्न संवैधानिक आयोगमा ५२ जना पदाधिकारी सिफारिस तथा नियुक्तिविरुद्ध तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासहित १५ रिट परेका थिए ।

गत जेठ १ मा बहस सकिएपछि जेठ २८ मा नियुक्तिबारे निर्णय सुनाउने तोकिए पनि न्यायाधीशबीच पर्याप्त छलफल हुन नसक्दा निर्णय सुनाउने मिति बुधबारका लागि सारिएको थियो ।