त्रिविमा लगाएको ताला तत्काल खोल्न आदेश : आंशिक प्राध्यापकले खोले ताला, विद्यार्थीको बाँकी

होमल्याण्ड खबर

२०८२ असार २० गते, शुक्रबार १३:२२ मा प्रकाशित

आंशिक प्राध्यापकहरूले त्रिभिुवन विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र सेवा आयोगमा लगाएको ताला खोलेका छन् । सर्वोच्च अदालतले बुधबार त्रिविमा लगाएको ताला तत्काल खोल्न आदेश दिएको थियो । अदालतले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी वृत्त कीर्तिपुरको नाममा तत्काल ताला खोल्न अन्तरिम आदेश जारी गरेको थियो ।

तर शुक्रबार बिहान आंशिक प्राध्यापकहरूले आफैं ताला खोलेका छन् । फास्ट ट्रयाकबाट प्राध्यापक नियुक्त गर्न लागेको भन्दै ३० जेठमा आंशिक प्राध्यापक संघले तालाबन्दी गरेको थियो । शुक्रबार त्रिविको ६६ औं वार्षिकोत्सव पनि थियो । त्रिभुवन स्मृति भवानमा वार्षिकोत्सव कार्यक्रम सुरु हुनुअघि नै आंशिक प्राध्यापकले गएर तला खोलेका हुन् । त्रिविका रजिस्ट्रार प्रा.डा केदारप्रसाद रिजालले आंशिक प्राध्यापकले ताला खोलेको जानकारी आएको बताए । ‘ताला खोलेको सूचना आएको छ,’ उनले भने ।

तर नेविसंघ निकट विद्यार्थीले लगाएको ताला भने खुलेको छैन । स्नातक पहिलो वर्षको भर्ना खुलाउनु पर्ने माग राखेर नेविसंघबाट निर्वाचित भएका काठमाडौंमा स्ववियु पदाधिकारीले उपकुलति, रेक्टर र रजिस्ट्रारको कार्यकक्षमा ताला लगाएका थिए ।

ताला सँगै उनीहरूले उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेका थिए ।

तोडफोडमा संलग्नलाई कारबाहीको माग गर्दै त्रिविले जाहेरी दिएको थियो । तर अहिलेसम्म कारबाही भएको छैन ।  पक्राउ परेका दुई जनालाई पनि छोडिसकेको छ । तालाबन्दीका कारण उपकुलपति प्रा.डा. खड्ग केसी, रेक्टर प्रा.डा. दुविनन्द ढकाल र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल बाहिरै बसेर काम गरिरहेका छन् । विद्यार्थीले लगाएको ताला आफैं नखोले अदालतको आदेश अनुसार प्रशासनले खोल्ने तयारी छ ।

अदालतको आदेश गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आएपछि प्रहरीले खोल्ने बताइएको छ । तालाबन्दीकै बीच त्रिविले शुक्रबार आफ्नो ६६ औं वार्षिकोत्सव मनाएको छ ।