रामहरि खतिवडाले भने- पार्टीबाट निर्देशन आए समिति सभापति छोड्छु

होमल्याण्ड खबर

२०८२ असार २० गते, शुक्रबार १६:१६ मा प्रकाशित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले पार्टीबाट निर्देशन आए पद छोड्न तयार रहेको बताएका छन् ।

संघीय निजामती सेवा विधेयकमा समितिबाट पारित भएको भन्दा फरक प्रावधान राख्दै ‘कुलिङ अफ पिरियड’ व्यवस्था पारित भएपछि खतिवडा विवादमा परेका हुन् । विपक्षी दलहरूले उनको राजीनामा माग गरेका छन् ।

‘सभापतिको हैसियतमा मेरो पनि गल्ती छ,’ पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै खतिवडाले भने, ‘पार्टीले बाहिर बस् भने म तयार छु ।’

संसदीय समितिको काम कारबाहीलाई बदनाम गर्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै उनले विधिसम्मतरूपमा अघि बढ्न आग्रह गरे ।

बैठकमा उनले पार्टी नेतृत्व कमजोर पार्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरे ।

‘पार्टी सभापति, उपसभापति, महामन्त्री, केन्द्रीय सदस्यहरूलाई निरन्तर खुइल्याउने क्रमले संगठनलाई क्षति पुर्‍याउँछ,’ खतिवडाले भने, ‘गगन थापा कमजोर भयो भने अरू को बलियो हुन्छ ?’