भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

होमल्याण्ड खबर

२०८२ असार २२ गते, आईतवार १०:२६ मा प्रकाशित

रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ । गए राति भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र नौ वर्षीय सालो सपन गिरीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार घटनापश्चात राई आफैँले आज बिहान प्रहरीलाई फोन गरेर घटनाका बारेमा जानकारी गराएका थिए । राईको पनि पेटमा गहिरो चोट लागेको छ । जिल्ला अस्पतालमा उपचारपश्चात थप उपचारका लागि उनलाई बाहिर रेफर गरिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले घटनास्थल पुगेर शवको मुचुल्का उठाइरहेको छ । आरोपित राई करिब एक हप्ताअघिबाट ससुरालीमा बस्दै आएको रामप्रसादराई–२ का वडासदस्य जीवन जर्गा मगरले जानकारी दिए । घरायसी विवादका कारण घटना भएको हुनसक्ने उनको भनाइ छ ।