२२ फाल्गुन २०८२, शुक्रबार
असार अन्तिमको समय रातदिन नभनी सडक कालोपत्रे गर्ने काम धमाधम हुँदै थियो। वर्षौँअघि बनेको घर अगाडिको कच्ची धुले सडक चिल्लो हुने गरी कालोपत्रे गर्ने थाहा पाएपछि गाउँले पनि मख्ख थिए।
काम सकियो, ठेकेदार बिलाए, प्राविधिक हिँडे तर ४/५ दिन नबित्दै कालोपत्रे सडक पक्ल्याक पक्ल्याक उक्किन थाल्यो। बल्ल पो स्थानीय झस्किए ‘पक्की सडकको काम त पूरै कच्ची भए छ।’ घटना हो उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बसाहास्थित चटपटे टोल कालोपत्रे सडक योजनाको।


संघीय सरकारमार्फत आर्थिक वर्ष ०८१/८२ मा विनियोजित १ करोड बजेटमध्ये ६८ लाख ६३ हजार ५ सय ७७ रुपैयाँमा निर्मित ४ सय ९० मिटर सडक कालोपत्रे गर्ने काम पूर्णतः कच्ची भएको स्थानीयको आरोप छ। चौदण्डीगढी बेलटारका स्थानीय तेजुलाल साहको सीताराम कन्ट्रक्सन प्रालिले गरेको कालोपत्रेको काम गत वैशाख १२ गते ठेक्का सम्झौता गरेर हतारमा गर्दा यस्तो समस्या आएको स्थानीय बताउँछन्।
संघीय सडक सुपरिवेक्षण कार्यालय, सडक डिभिजन लाहान, सिराहाको रेखदेखमा निर्मित सडक गुणस्तरहीन भएपछि आक्रोसित स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत गुहारेका छन्। योजना निर्माणको सुरुमै गुणस्तरहीन काम हुने संकेत पाएर सरोकारवाला निकाय र ठेकेदार कम्पनीलाई खबरदारी गरेको तर बेवास्ता गर्दै छिटो कम सक्ने हुँदा काम गुणस्तरहीन हुन पुगेको उनीहरूको गुनासो छ।
आर्थिक वर्ष सकिन लाग्दा वैशाख १२ ठेक्का सम्झौता गर्नुले नै काम गुणस्तरहीन हुने संकेत मिलेको स्थानीय बताउँछन्। साउनदेखि सुरु हुने आर्थिक वर्षको साढे ९ महिना गुजारेर अढाई महिना मात्र बाँकी हुँदा ठेक्का सम्झौता गरेर काम थाल्नु नै गुणस्तीय नहुने संकेत भएको स्थानीय बताउँछन्।
‘राम्रो काम गर्ने मनसाय भए भदौ-असोजमै ठेक्का लगाएर काम गर्थे नि,’ स्थानीय सम्बर मगरले भने, ‘९ महिना गुजारेर ठेक्का लगाउनुको अर्थ नै काम लापरबाही गरेर बजेट सक्ने, मिलेमतोमा पैसा कमाउने दाउ हो।’ सडक कार्यालय र ठेकेदारको मिलेमतोमा रातारात काम सकेर नाम मात्रको कालोपत्रे बनाएकाले उक्किने र भाँसिने समस्या सामान्य हुने मगर बताउँछन्।
गुणस्तरहीन हुनुमा कच्चा पदार्थ ढुङ्गा, गिट्टी, बालुवा र सिमेन्टको समीश्रण नमिलेको तथा गुणस्तरहीन सामग्रीको प्रयोग भएको तथाअन्य मापदण्ड नमिलेको हुनसक्ने आँकलन गरिएको छ। त्यसैगरी वर्षायाममा हतार हतार कम गर्नाले पनि काम राम्रो हुन नसकेकोस्थानीयको अनुमान छ।
वडाध्यक्ष लुङ्गराज राईले काम गुणस्तरहीन भएको स्थानीयको आरोपपछि प्राविधिक बोलाएर छानबिन गर्न लागेको बताए। ठेक्का सम्झौता ढिलो भएकाले रातारात काम सक्न खोज्दा कमीकमजोरी भएको पाइएको भन्दै वडाध्यक्ष राईले डिभिजन कार्यालयबाट प्राविधिक बोलाएर कालोपत्रेको गुणस्तर चेकजाँच गर्न लगाएको बताए। उनले बिग्रेको काम बरु म्याद थपेर भए पनि सपार्न र बरु फेरि गुणस्तरीय कालोपत्रे गर्न पत्राचार गरेको बताएका छन्।
सडक डिभिजन कार्यालय लहानका प्रमुख (डिई) आशुतोष कर्णले काम कमजोर भएको भन्ने खवर आएपछि प्राविधिक खटाएर गुणस्तर परीक्षण गर्न लगाएको बताए। हतारमा गुणस्तरहीन काम गर्नुभन्दा समय लिएर राम्रो काम गर्नका लागि म्याद थपेरचालु वर्ष राम्रो काम गर्ने प्रक्रिया अघि बढाएको पनि डिई कर्णले बताए।