९ मंसिर २०८१, आईतवार
काठमाडौंको चक्रपथमा मोनोरेल संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने जिम्मेवारी चाईना रेलवे २५ औं व्यूरो ग्रुप कम्पनी (सीआरसीसी) लाई दिइएको छ ।
बुधबार काठमाडौंमा एक कार्यक्रमबीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र सीसीआरसीका प्रमुख झ्यू ग्वाङबीङबीच काठमाडौंको चक्रपथमा मोनोरेल संचालनका लागि डिपीआर तयार पार्ने सहमति पत्रमा हस्ताक्षर भएको हो । एक वर्ष भित्र डिपीआर तयार पारीसक्ने गरी समझदारी गरिएको काठमाडौं महानगरपालिकाका मेयर शाक्यले जानकारी दिए ।
३ वर्ष भित्र सो रेल सेवा काठमाडौं र ललितपुर महानगरपालिका भित्र रहेको चक्रपथमा संचालन गर्ने योजना बनाइएको छ । काठमाडौं महानगरपालिकाका मेयर शाक्यले संघीय सरकार र प्रदेश सरकारको समेत सक्रियतामा मोनोरेलको डिपीआर तयार पार्ने सहमति पत्रमा समझदारी गरिएको जनाए ।
डिपीआरको खर्च पनि चिनियाँ कम्पनी सिआरसीसीले नै व्यहोर्नेछ । काठमाडौं महानगरपालिकाका मेयर शाक्यले सो प्रतिवेदन ६ महिना भित्रै आउने विश्वास व्यक्त गर्दै त्यसपछि तत्काल मोनोरेल संचालन मार्ग निर्माणको काम सुरु हुने दाबी गरे। उनले मोनोरेल सेवा निर्माणका लागि टेन्डर आह्वान गरेर प्रक्रिया अघि बढाउने योजना पनि सार्वजनिक गरे ।
कार्यक्रममा बोल्दै चिनियाँ कम्पनी सिआरसीसीका प्रमुख झ्यूले डिपीआरसहित मोनोरेल सेवा संचालनका लागि निर्माण कार्य पूरा गर्न ५ वर्ष समय लाग्ने बताएका थिए । यता, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मोनोरेल संचालन गर्ने आफूहरुको सपना पूरा गर्न चिनियाँ कम्पनी सीआरसीसी सफल हुने विश्वास व्यक्त गरे ।
उनले सो रेल सेवा संचालनका लागि संघीय सरकार र प्रदेश सरकारको पनि सहायता लिने बताए । यस अघि सीसीआरसीले नै सो रेल संचालनका लागि सम्भाव्यता अध्ययन तयार पारेको थियो । अध्ययन अनुसार काठमाडौं उपत्यकाको २७ किलोमिटर चक्रपथ भित्र मोनोरेल संचालनका लागि करिव १ खरव १६ अरव लाग्नेछ ।
काठमाडौं महानगरपालिकाका मेयर शाक्यले सो भन्दा कम लागतमा मोनोरेल संचालन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। मोनोरेल संचालन भएसँगै काठमाडौंमा ट्राफिक जामको समस्या सदाका लागि समाधान हुने विश्वास गरिएको छ ।