चेल्सी र टोटेनह्याम भिडन्त

होमल्याण्ड खबर

२०७५ पुष ५ गते, बिहीबार १२:११ मा प्रकाशित

सन ह्युङ मिन र डेले अलीको गोलमा चिर प्रतिद्वन्द्वी आर्सनलविरुद्धको लन्डन डर्बीमा २–० को विजयी नतिजा निकाल्दै ले काराबाओ कपको सेमिफाइनलमा लन्डनको अर्को प्रतिद्वन्द्वी चेल्सीविरुद्ध भिडन्त पक्का गरेको छ ।
अलीको चलाख पासलाई गोलमा परिणत गर्दै सनले २०औं मिनेटमा टोटेनह्यामलाई अग्रता दिलाएका थिए । इमिरेट्स रंगशालामा अलीले आरामपूर्वक विपक्षी गोलकिपर पिटर चेकको माथिबाट चिप गरेको बल गोलमा परिणत भएपछि ५९औं मिनेटमा टोलीको अग्रता दोब्बर भएको थियो । गोल गरेको केही बेरमै इङल्यान्ड मिडफिल्डर अलीलाई विपक्षी समर्थकले टाउकामा प्लास्टिकको बोटल प्रहार गरेका थिए ।
१८ दिनको बीचमा दोस्रो पटक उत्तरी लन्डन डर्बीमा आर्सनल र टोटेनह्याम मैदान उत्रिँदा रंगशालाको माहोल निक्कै तातेको थियो । जहाँ जित हासिल गर्न सफल टोटेनह्याम २०१४–१५ को सिजनपछि पहिलो पटक प्रतियोगिताको सेमिफाइनल पुग्न सफल भयो । त्योबेला फाइनल पुगेको टोटेनह्याम उपाधि भिडन्तमा चेल्सीसँग पराजित भएको थियो । यसपाली भने टोलीले चेल्सीसँग सेमिफाइनलमै भिड्नु पर्ने भएको छ ।
चेल्सीले इडेन हाजार्डको गोलमा गएराती नै बर्नमाउथमाथि १–० को नतिजामा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका हाजार्डले समय सकिन ६ मिनेट बाँकी रहँदा गरेको गोल चेल्सीलाई सेमिफाइनलको बाटोमा डो¥याउन पर्याप्त भयो । पेड्रोले ब्याक हिलबाट मिलाएको बललाई हाजार्डले गोलमा परिणत गरेका थिए । हाजार्डको प्रहार चाली ड्यानियल्सलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।