९ मंसिर २०८१, आईतवार
०७२ को भूकम्पपछि बन्द भएको नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख देखि सञ्चालनमा आउने भएको छ ।
हाल तातोपानी नाका सञ्चालनका लागि सीमा क्षेत्रमा तीव्र गतिमा काम अगाडि बढिरहेको छ । चिनियाँ उच्च स्रोतका अनुसार आउँदो वैशाख १८ बाट नाका सञ्चालन हुन लागेकोे हो ।
तातोपानी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार उक्त नाका सञ्चालनका लागि वैशाखको पहिलो सातासम्म पूर्वाधारको काम सम्पन्न हुने चिनियाँ ठेकेदारले बताएको छ ।
अहिले मितेरी पुलको पुनःनिर्माण पनि थालिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
काठमाडौँबाट १ सय ११ किलोमिटर उत्तरपश्चिममा अवस्थित तातोपानीका बासिन्दा नाका बन्द भएपछि चर्को मारमा परेका छन् ।
चीनले आफ्नोतर्फको सडकलगायत भन्सार पूर्वाधारको निर्माण तीव्र गतिमा काम गरिरहेको सडक विभागका अधिकारीको दाबी छ ।
चीनले विशेष महत्वका साथ नाका सञ्चालनका लागि काम गर्न सुरु गरेपछि नेपालतर्फको सडक मर्मतका लागि सडक विभागलाई सरकारले जागरुक बनाएको बुझिएको छ ।