बुधबार उपत्यकाको न्युनतम तापक्रम २ डिग्री

होमल्याण्ड खबर

२०७५ पुष ११ गते, बुधबार १२:०६ मा प्रकाशित

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बुधबार २ डिग्रीमा झरेको छ । मंगलबार न्युनतम तापक्रम २ दशमलब ६ डिग्री पुगेको उपत्यकाको तापक्रम बुधबार २ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले अबको केही दिन न्यूनतम तापक्रम २ देखि ३ डिग्रीको हाराहारीमा रहने हँुदा अझै चिसो बढ्ने जानकारी दिए । अहिले जाडोको मध्य अवस्थामा रहेकाले अबका दिन न्युनतम तापक्रम घट्दै जाने र बढी चिसो हुने उनले बताए ।

पश्चिमी बायुको प्रभाव कमजोर रहेकाले हिउँदे बर्षा हुने सम्भावना तत्काल नरहेको मौसमबिदहरुले बताएका छन् । बर्षा हुनका लागि पश्चिमी बायु सक्रिय हुनुपर्ने मोसमविद् अर्यालले उल्लेख गरे ।  यसैबीच मौसम पूर्वानुमान महाशाखाले जारी गरको विज्ञप्ति अनुसार बुधबार देशका पहाडी भुभागहरुमा आंशिकदेखि सामान्य बदली रहने र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।

देशको पश्चिमी तथा मध्य उच्च हिमाली क्षेत्रका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । राति पहाडी भुभागहरुमा आंशिकदेखि सामान्य बदली रहने र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।

महाशाखाको तथ्यांक अनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्री सेल्सियस पुगेको छ । तर जल प्रकोप नियन्त्रण महाशाखाका अनुसार भने मनाङ्गको न्युनतम तापक्रम माइनस १४ पुगेको छ ।

मौसम विज्ञान विभागको जाँच गर्ने स्टेशन मनाङ्गमा नभएकाले भएका स्टेशनमध्ये जुम्लामा कम देखिएको मौसमबिद गंगा नगरकोटीले जानकारी दिए । त्यसैगरी जोमसोमको न्युनतम तापक्रम माइनस २ दशमलब ७ र जिरीमा माइनस ३ दशमलब २ डिग्रीमा झरेको छ ।