भक्तपुरको पाँचतल्ले मन्दिर परिसरमा माघ १ गतेदेखि चार पांग्रे सवारी प्रवेशमा रोक

होमल्याण्ड खबर

२०७५ पुष १८ गते, बुधबार १२:१७ मा प्रकाशित

भक्तपुरको पाँचतल्ले मन्दिर परिसरमा माघ १ गतेदेखि चार पांग्रे सवारी प्रवेशमा रोक लगाइने भएको छ ।

विश्व सम्पदा सुचिमा सुचिकृत पाँचतल्ले मन्दिर परिसरमा चारपांग्रे सवारी प्रवेश गराउँदा पर्यटकलाई सम्पदा अवलोकनमा बाधा भएको र विश्व सम्पदा स्थलको संरक्षण गर्न भन्दै परिसरमा माघ १ गतेदेखि सवारी प्रवेशमा रोक लगाइने भएको हो ।

पाँचतल्ले मन्दिरको पूर्वमा क्वाछें, पश्चिममा स्वपुंग भैरव, उत्तरमा चतुब्र्रम्ह महाविहारको पूर्वी बाटो र दक्षिणमा तीलमाधव नारायण मन्दिरको पूर्वी ढोका यताको चार किलाभित्र माघ १ गते देखि लागु हुने गरि बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मकालाई चारपांग्रे सवारी साधन निषेध गरिएको नगरपालिकाले जनाएको छ ।

भक्तपुरमा चारपांग्रे सवारी लिएर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि भक्तपुरको योसिंखेल स्थित पहिलाको डम्पिंग साइड भएको स्थानमा पार्किङको व्यवस्था मिलाएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए ।

चारपांग्रे सवारी साधन निषेध गरिएको भएपनि हाललाई दुई पांग्रे सवारीसाधन भने रोक नलगाइएको उनले बताए ।

अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, दमकल लगायतका साधन बाहेक अन्य साधनलाई भने नगरपालिकाको स्वीकृति लिएर चलाउने व्यवस्था मिलाएका प्रमुख प्रजापतिले जानकारी दिए । यसअघि नगरपालिकाले भक्तपुर दरवार क्षेत्रभित्र दुई पांग्रे तथा चार पांग्रे सवारी साधन निषेध गरेको थियो ।