शनिबारदेखि बालाजुमा पौडी प्रतियोगिता सुरु

होमल्याण्ड खबर

२०८३ जेष्ठ १७ गते, आईतवार १०:३२ मा प्रकाशित

बालाजु उद्यानस्थित पौडी पोखरीमा शनिबारदेखि महानगर स्तरीय पौडी प्रतियोगिता सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको वडा नंं २९ ले नेपाल पौडी संघसँगको सहकार्यमा ‘स्वस्थ्य सरीर, स्वस्थ्य वडा, स्वस्थ्य महानगर’ नारासहित आयोजना गरेको प्रतियोगितामा विभिन्न वडाहरुबाट १३७ जना खेलाडी प्रतिस्पर्धामा छन्। जसमा ७६ जना पुरुष र ६१ जना महिला खेलाडी रहेका छन् ।

आयोजक वडाले अरु वडाहरुबाट अधिकतम ८ जनासम्म खेलाडी पठाउन पत्राचार गरेको थियो । यसबाट सबै वडाले सहभागी पठाउने भएको वडा सदस्य सन्तोष ढुङ्गेलले जानकारी दिए ।

प्रतियोगितामा ५० मिटर, १ सय मिटर, २ सय मिटर र ४ सय मिटर दुरीमा फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, वटरफ्लाई विधामा प्रतिस्पर्धा हुनेछ । इन्डिभिज्युअल मेडले २ सय मिटर दूरीको हुनेछ । यस्तै महिला पुरुषको संयुक्त रिले पनि हुनेछ ।

वडा सदस्य ढुङ्गेलका अनुसार महानगरबासीहरुलाई सक्रिय जीवनका लागि प्रोत्साहित गर्न, शारीरिक अभ्यासमा क्रियाशील बनाउन, अन्तर वडा समन्वय बढाउन, स्थानीय स्तरबाट राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा खेल्ने खेलाडी उत्पादन गर्न खेल आयोजना गरिएको हो ।

खेलमा उत्कृष्ट महिला खेलाडी र पुरुष खेलाडीलाई नगद २५ हजार रुपियाँसहित पुरस्कृत गरिनेछ । खेलाडीहरुको प्रोत्साहनका लागि मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।