२४ जेष्ठ २०८३, आईतवार
एसियन गेम्स २०२६ पुरुष क्रिकेट छनोटअन्तर्गत सिंगापुरमा भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको छ ।
सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।


आइतबार भएको खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९/२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
९५ रनको लक्ष्य पछ्याउने क्रममा ओपनर कुशल भुर्तेलले ८ बलमा ३ चौका र १ छक्कासहित २० रन बनाएर आउट भए । उनी समिर ओथमानको बलमा क्याच आउट भए । मोहम्मद आसिफ शेख १ रनमै पेभिलियन फर्किए ।
त्यसपछि कप्तान रोहित पौडेल र लोकेश बमले इनिङ सम्हाले । दुवैले ६८ रनको अविजित साझेदारी गर्दै नेपाललाई सहज जित दिलाए ।
लोकेश बम २६ बलमा ७ चौका र १ छक्कासहित ४४ रनमा अविजित रहे । कप्तान रोहित पौडेल २० बलमा २ चौकासहित २१ रनमा नटआउट रहे ।
ओमानका लागि समिर ओथमानले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । कप्तान सुफियान महमुदले ४ ओभरमा ३१ रन दिए पनि विकेट लिन सकेनन् ।
टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९/४ ओभरमा ९४ रनमै अलआउट भयो । ओमानका लागि कप्तान सुफियान महमुदले सर्वाधिक ३८ रन बनाए । उनले ४२ बलमा २ चौका र २ छक्का प्रहार गरे । जुबैर अली अकबरले २२ तथा अब्दुलजलिल खानले १६ रन जोडे । ओमानका चार ब्याटर शून्यमै पेभिलियन फर्किएका थिए ।
नेपालका बलर सामु ओमानका ब्याटर निरीह देखिए । करण केसीले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र शाहब आलमले १–१ विकेट हात पारे ।
नेपालले शुरूआतमै ओमानमाथि दबाब बनाएको थियो । करण र सोमपालको घातक बलिङका सामु ओमानले १० रन नपुग्दै ४ विकेट गुमाएको थियो ।