विश्वकपमा मेस्सीको ऐतिहासिक रात

होमल्याण्ड खबर

२०८३ असार ३ गते, बुधबार १०:२१ मा प्रकाशित

 लियोनेल मेस्सीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्दै आफ्नो छैटौँ विश्वकप सहभागितालाई अविस्मरणीय बनाएका छन् ।
कप्तान मेस्सीको ह्याट्रिक प्रेरित प्रदर्शनमा साविक विजेता अर्जेन्टिनाले विश्वकप उपाधि रक्षा अभियान विजयी सुरुआत गर्दा उहाँ विश्वकप इतिहासका संयुक्त सर्वाधिक गोलकर्ता पनि बनेका छन् ।
कन्सास सिटीस्थित ६९ हजार ४५ दर्शक क्षमता भएको एरोहेड स्टेडियममा मङ्गलबार भएको खेलमा ३८ वर्षीय मेस्सीले तीन गोल गर्दै आफ्नो विश्वकप गोल सङ्ख्या १६ पुर्‍याए ।
यससँगै उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोसको सर्वाधिक १६ गोलको कीर्तिमान बराबरी गरेका छन् ।
मेस्सीका लागि यो खेल अर्को कारणले पनि विशेष रह्यो ।
उनले आफ्नो करियरको २००औँ अन्तर्राष्ट्रिय खेल खेल्दै विश्वकपका छ संस्करणमा सहभागिता जनाउने पहिलो फुटबलरको इतिहास रचे ।
सन् २००६ मा जर्मनीमा किशोर खेलाडीका रूपमा पहिलो विश्वकप खेल्नुभएका मेस्सीले दुई दशक लामो यात्रामा अर्को ऐतिहासिक अध्याय थपेका हुन् ।
ग्रुप ‘जे’ अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले सुरुदेखि नै पकड जमाएको थियो ।
मेस्सीले १७औँ मिनेटमा सुन्दर कर्लिङ प्रहारमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
त्यो गोलसँगै उनको विश्वकप गोल सङ्ख्या १४ पुगेको थियो, जसले उनलाई जर्मनीका गर्ड मुलर र फ्रान्सका किलियन एमबाप्पेको बराबरीमा पु¥याए ।