विश्वकपबाट बाहिरियो नेदरल्याण्ड्स, मोरक्कोसँग पेनाल्टीमा हार

होमल्याण्ड खबर

२०८३ असार १६ गते, मंगलवार ११:२९ मा प्रकाशित

 नेदरल्याण्ड्स फिफा विश्वकप-२०२६ बाट अन्तिम–३२ चरणमै बाहिरिएको छ । रोमाञ्चक प्रतिस्पर्धामा निर्धारित ९० मिनेट र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि मोरक्कोले पेनाल्टी सुटआउटमा ३–२ को जित निकाल्दै अन्तिम–१६ मा स्थान सुरक्षित गरेको हो ।

मोरक्कोका इस्माइल साइबारीले निर्णायक पेनाल्टी गोल गर्दै आफ्नो टोलीलाई ऐतिहासिक जित दिलाए । नेदरल्यान्ड्सका लागि भने यो हार निकै पीडादायी बन्यो, किनभने टोली दोस्रो हाफमा अग्रता लिएपछि पनि त्यसलाई जोगाउन असफल रह्यो ।

खेलको अधिकांश समय मोरक्कोले नियन्त्रण कायम राख्यो । बलमा पकड जमाएको मोरक्कोले लगातार आक्रमण सिर्जना गर्दै नेदरल्याण्ड्सको रक्षापंक्तिलाई दवावमा राख्यो । पहिलो हाफमै अजेद्दिन ओउनाहीले उत्कृष्ट अवसर गुमाए भने नेदरल्याण्ड्सका गोलरक्षक बार्ट फर्ब्रुगेनले लगातार दुई उत्कृष्ट बचाउ गर्दै टोलीलाई संकटबाट जोगाए ।

दोस्रो हाफको ६०औं मिनेटमा नेदरल्याण्ड्सका डिफेन्डर मिकी भान डे भेनले मोरक्कोका कप्तान अच्राफ हाकिमीलाई स्पष्ट गोल गर्ने अवसरबाट रोक्दै महत्वपूर्ण हस्तक्षेप गरेका थिए ।

त्यसपछि दोस्रो हाफको ‘हाइड्रेसन ब्रेक’ पछि नेदरल्याण्ड्स केही लयमा फर्कियो । क्रिसेन्सियो समरभिलको दबाबपछि सुरु भएको काउन्टर आक्रमणमा कोडी गाक्पोले ७२औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई १–० को अग्रता दिलाए ।

तर अग्रता लिएपछि नेदरल्याण्ड्स रक्षात्मक खेलमा सीमित भयो । खेलको इन्जुरी समयमा इस्सा डिओपले हेडमार्फत बराबरी गोल गर्दै मोरक्कोलाई पुनः खेलमा फर्काए ।

अतिरिक्त समयमा पनि मोरक्कोले आक्रमण जारी राख्यो । सौफियान रहिमीले उत्कृष्ट अवसर गुमाए भने फर्ब्रुगेनले नजिकबाट आएको प्रहार रोक्दै खेललाई पेनाल्टीसम्म पुर्याए ।

पेनाल्टी सुटआउटमा ट्युन कुपमाइनर्सले नेदरल्याण्ड्सका लागि पहिलो गोल गरे पनि जस्टिन क्लुइभर्ट, क्विन्टेन टिम्बर र क्रिसेन्सियो समरभिल असफल भए । मोरक्कोका गोलरक्षक यासिन बोनोले महत्वपूर्ण बचाउ गरेपछि अन्तिम पेनाल्टी लिन आएका साइबारीले कुनै गल्ती नगरी गोल गर्दै मोरक्कोलाई जित दिलाए ।

यो जितसँगै मोरक्कोले फेरि एकपटक विश्वकपमा युरोपेली शक्तिशाली टोलीलाई पेनाल्टीमार्फत हराउँदै आफ्नो यात्रा अगाडि बढाएको छ । अर्कोतर्फ नेदरल्याण्ड्सको यो आधुनिक विश्वकप इतिहासकै सबैभन्दा छिटो बहिर्गमनमध्ये एक बनेको छ ।

खेलाडी मूल्यांकन

गोलरक्षक तथा रक्षक

बार्ट फर्ब्रुगेन (८/१०): नेदरल्यान्ड्सलाई खेलभरि बचाइराख्ने मुख्य खेलाडी। धेरै उत्कृष्ट बचाउ गरे, यद्यपि बराबरी गोल रोक्न सकेनन् ।

मिकी भान डे भेन (६/१०): हाकिमीको स्पष्ट अवसर विफल पार्दै महत्वपूर्ण योगदान दिए ।

नाथन आके (६/१०): बल नियन्त्रणमा ठीकठाक देखिए पनि रक्षामा खास प्रभाव जमाउन सकेनन् ।

भर्जिल भान डाइक (७/१०): साइबारीको अवसर रोके पनि अन्तिम समयमा आएको बराबरी गोलले उनको प्रयास ओझेलमा पर्यो ।

जान पाउल भान हेके (८/१०): नेदरल्यान्ड्सका सबैभन्दा प्रभावशाली डिफेन्डर बने ।

डेन्जेल डुम्फ्रिस (६/१०): आक्रमणमा सक्रिय भए पनि अन्तिम पास र निर्णयमा कमजोर देखिए ।

मिडफिल्ड

फ्रेन्की डे योङ (७/१०): पासिङ राम्रो भए पनि खेलको नियन्त्रण कायम गर्न सकेनन् ।
रायन ग्राभेनबेर्ख (६/१०): केही अवसर बनाए पनि समग्रमा प्रभावहीन रहे ।

आक्रमण

कोडी गाक्पो (७/१०): निर्णायक गोल गरे पनि त्यसबाहेक धेरै प्रभाव जमाउन सकेनन्।
ब्रायन ब्रोबे (६/१०): मेहनत गरे पनि गोलको अवसर सिर्जना गर्न असफल।
क्रिसेन्सियो समरभिल (७/१०): गाक्पोको गोलमा महत्वपूर्ण भूमिका खेले तर पेनाल्टी गुमाउँदा टोलीलाई ठूलो घाटा पुग्यो ।

प्रशिक्षक

रोनाल्ड कोएमान (४/१०): टोलीसँग उत्कृष्ट आक्रमण क्षमता हुँदा-हुँदै पनि अत्यधिक रक्षात्मक रणनीति अपनाएको भन्दै उनको आलोचना भइरहेको छ । खेलमा परिवर्तन गर्न ढिलाइ गर्नु र अग्रता लिएपछि टोलीलाई अत्यधिक पछाडि हटाउनु नेदरल्याण्ड्सको हारको प्रमुख कारण मानिएको छ ।