३० असार २०८३, मंगलवार
रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग क्षेत्रको नियन्त्रणलाई लिएर संयुक्त राज्य अमेरिका र इरानबीच शुरू भएको पछिल्लो सैन्य मुठभेडका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ।
अमेरिकी सेन्ट्रल कमान्डले आइतबार इरानभित्र रहेका सयौँ सैन्य लक्ष्यहरूमा बमबारी गरेको केही घण्टापछि हर्मुज क्षेत्रमा व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानी क्षमतालाई ध्वस्त पार्न थप दर्जनौँ हवाई आक्रमणहरू गरिएको जनाएको छ।


अमेरिकी आक्रमणको जवाफमा इरानी सेनाले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, ओमान र बहराइनमा क्षेप्यास्त्र तथा ड्रोनहरूको ठुलो लहरसहित आक्रमण गरेको छ।
गत महिना वासिङ्टन र तेहरानबिच युद्ध अन्त्य गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएपछि हर्मुज जलक्षेत्रमा समुद्री यातायात केही सहज भएको थियो। तर, दुई पक्षबिच पुनः शुरू भएको भीषण लडाइँका कारण अहिले जहाजहरूको आवतजावतमा ठुलो गिरावट आएको छ।
गत जुन १७ मा समझदारी पत्रमा हस्ताक्षर भएपछि तेलको मूल्य द्वन्द्व अघिको सामान्य अवस्थामा फर्किएको थियो। तर, पछिल्लो तनावसँगै हाल कच्चा तेलको मूल्य गत फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि गरेको प्रारम्भिक आक्रमणभन्दा अघिको समयको तुलनामा झन्डै ९ प्रतिशतले बढिसकेको छ।