ईभी दुर्घटना बढ्दै गएपछि चालक र लाइसेन्स प्रणाली सुधार्न पुकार बमको माग

होमल्याण्ड खबर

२०८३ भाद्र ३१ गते, बुधबार १५:१२ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले पछिल्लो समय विद्युतीय सवारीसाधन (ईभी) दुर्घटनाको विषयलाई गाडीमा मात्रै सीमित नगरी समग्र सडक सुरक्षा प्रणालीसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बमले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ खानीखोलामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सुरज भट्टराई, नरबहादुर सिंह ठकुरी, भुनेश्वर साह कानु र सरफरोस मियाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

उनले सवारी चालकमा देखिएको लापरबाही, कम उमेर तथा अनुभवको कमी र सार्वजनिक सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया पर्याप्त वैज्ञानिक तथा कडा भए–नभएको विषयमा प्रश्न उठाए ।

बमले दुर्घटनामा परेको ईभीका चालकको उमेर २० वर्ष रहेको उल्लेख गर्दै दुर्घटनापछि गाडीलाई मात्रै दोष दिनुभन्दा चालकको सीप, अनुभव, लाइसेन्स प्रणाली र नियमन पक्षलाई समेत अध्ययन गर्नुपर्ने बताए ।

बमले यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, सवारी उत्पादक कम्पनी तथा प्राविधिक विज्ञलाई समेटेर सरल नेपाली भाषामा ईभी सुरक्षा निर्देशिका तयार गर्नुपर्नेमा जोड दिए । साथै, ड्राइभिङ लाइसेन्ससम्बन्धी प्रशिक्षणमा ईभी सुरक्षासम्बन्धी छुट्टै मोड्युल समावेश गर्न र चार्जिङ स्टेसनमा अनिवार्य सुरक्षा सूचना राख्नुपर्ने उनको भनाइ थियो ।

उनले लाइसेन्स वितरण तथा चालकको दक्षता परीक्षणलाई थप कडाइ गर्नुपर्ने बताउँदै सार्वजनिक सवारी चालकका लागि उमेरसँगै अनुभव, तालिम र नियमित दक्षता परीक्षणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

‘प्रविधि भित्र्याउने मात्र होइन, प्रविधि प्रयोग गर्ने नागरिक र चालकलाई शिक्षित बनाउने जिम्मेवारी पनि राज्यको हो,’ उनले भने ।

सांसद बमले सडक दुर्घटनाबाट घाइते हुनेहरूको तत्काल उपचारका लागि ट्रमा सेन्टर विस्तार गर्न पनि सरकारसँग आग्रह गरे । उनले नेपालमा सडक दुर्घटनाबाट दैनिक औसत सात जनाको मृत्यु हुने गरेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि शून्य मृत्युको लक्ष्यसहित काम गर्नुपर्ने बताए ।