१६ आश्विन २०८३, शुक्रबार
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराबाट दुबई उडानलाई नियमित र सफल बनाउन सार्वजनिक आह्वान गर्नुभएको छ । उहाँले सरकारका तिनै तह, निजी क्षेत्र, पर्यटन व्यवसायी, नागरिक समाज तथा आमयात्रुले गम्भीरतापूर्वक लिनका लागि आग्रह गर्नुभएको छ । “अहिले पहल गर्न सकिएन भने पछि ‘त्यतिबेला गर्न सकेको भए हुन्थ्यो’ भनेर पश्चात्ताप गर्नुको अर्थ रहने छैन । यसका लागि पोखरा महानगरपालिकाले पनि योजनाबद्ध रूपमा काम गरिरहेको छ । प्रदेश तथा सङ्घीय सरकारले पनि आआफ्नो जिम्मेवारी अनुसार आवश्यक सहजीकरणको अपेक्षा छ,” उहाँले भन्नुभयो ।
भिसा तथा प्रहरी रिपोर्टलगायत आवश्यक प्रक्रियामा यात्रुलाई सहजता प्रदान गर्न सम्बन्धित निकायसँग समन्वय र सहजीकरण भइरहेको उहाँले बताउनुभएको छ । भारतीय नागरिकलाई आवश्यक पर्ने नो अब्जेक्सन लेटर पोखरा पेन्सन क्याम्प कार्यालयबाटै उपलब्ध गराउन सकिए यात्रामा थप सहजता हुने भएकाले सम्बन्धित दूतावाससँग आवश्यक अनुरोध गरिएको पनि उहाँले उल्लेख गर्नुभएको छ । विभिन्न सङ्घ संस्था, व्यावसायिक समूह, कम्पनी तथा साथीको समूह बनाएर दुबई भ्रमण तथा अन्य अन्तर्राष्ट्रिय यात्राको योजना बनाउन पनि आह्वान गरिएको छ ।


पोखरामा रहेका करिब दुई दर्जन टुर्स एन्ड ट्राभल्सले टिकट, भिसा, प्रहरी रिपोर्ट तथा प्याकेजमा काम गरिरहेको पनि आचार्यको आह्वानमा उल्लेख छ । यात्रुले आफूलाई पायक पर्ने स्थानबाट यात्रा तयारी गर्न सक्ने व्यवस्था रहेको जनाइएको छ । एयरलाइन्सबाट प्राप्त जानकारी अनुसार काठमाडौँको तुलनामा पोखराबाट हवाई भाडा सस्तो रहेको आचार्यले उल्लेख गर्नुभएको छ । उहाँले यात्रा गर्नुअघि सम्बन्धित एयरलाइन्स वा ट्राभल एजेन्सीमार्फत भाडा तथा उडानको विवरण बुझ्न आग्रह गरेका छन् ।
पोखराबाट जाने यात्रुको बुकिङ बढाउन र यात्रुलाई आवश्यक जानकारी तथा सहजीकरण गर्न फ्लाई दुबईले पोखराको पुरानो विमानस्थलअगाडि कार्यालय स्थापना गरी पोखरा–दुबई डेस्क सञ्चालनमा ल्याएको आचार्यले बताउनुभयो । उहाँले सुरु भएको नियमित अन्तर्राष्ट्रिय उडानलाई सफल र दिगो बनाउन सबैले आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका लागि स्थापित भएको भन्दै यसको सम्भावना तथा उपयोगिता प्रमाणित गर्न अहिलेको अवसर सदुपयोग गर्नुपर्ने उहाँको भनाइ छ । “पोखरा तपाईं हामी सबैको हो । यसको अन्तर्राष्ट्रिय भविष्य पनि हामी सबैको साझा जिम्मेवारी हो,” उहाँले भन्नुभएको छ ।