२८ फाल्गुन २०८२, बिहीबार
आज २९७ औं पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै शुक्रबार मनाइँदैछ ।
सरकारी तथा गैरसरकारी संघसंस्थाले सिंहदरबारको पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रम गरी मनाउँदै छन् ।


लोकतन्त्रपूर्व राष्ट्रिय एकता दिवस सरकारी तबरबाटै मनाउने गरिन्थ्यो । तर, पछिल्ला केही वर्षदेखि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाएको छैन । पृथ्वीनारायणको जन्मजयन्तीका अवसरमा सरकारीस्तरबाट कुनै कार्यक्रम यस पटक नभए पनि विभिन्न राजनीतिक दल तथा राजावादी संघ–संस्थाले राष्ट्रिय एकता दिवसका रुपमा यस दिनलाई मनाउँदैछन् ।
जन्मजयन्तीका अवसरमा दिइँदै आएको सार्वजनिक बिदासमेत सरकारले कटौती गरेको छ । यद्यपि, केही स्थानीय तहहरुले भने आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।