२८ आश्विन २०८३, बुधबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि प्रहरीले आन्तरिक रुपमा अनुसन्धान थालेको छ। एक महिलालाई उनले ज्यान मार्ने, आर्थिक असुलीसहितको धम्कीको अडिओ सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको हो।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार अडिओ सार्वजनिक भएसँगै त्यसबारेमा अनुसन्धान थालिएको छ। सुनार र ती महिलाबीच भएको अडिओको सत्यता, त्यससम्बन्धी अन्य विवरण, महिलाको हालको अवस्थाबारे प्रहरीले सूक्ष्म रुपमा अनुसन्धान थालेको काफ्ले बताउँछन्। “अडिओ सार्वजनिक भएपछि त्यसको तथ्य के हो खोजी गर्ने काम भइरहेको छ,” काफ्ले भन्छन्।


उनका अनुसार अहिलेसम्म आधिकारिक रुपमा कानुनी रित पुर्याएर कसैले उजुरी दिएको छैन। कसैले उजुरी दिएपछि उनीमाथि औपचारिक अनुसन्धान सुरु हुने काफ्लेले बताए। “जहाँसम्म अडिओ आएको छ, त्यो के हो त भन्ने भन्ने विषयमा संगठनले आन्तरिक रुपमा अनुसन्धान गरिरहेको छ,” उनी भन्छन्। उक्त अडिओ परीक्षण गर्न सकिने प्रहरीले जनाएको छ। सुनारले भने एआईबाट सिर्जना गरिएको भन्दै प्रतिवाद गरिरहेका छन्।
सांसद सुनार यसअघि पटक–पटक प्रहरीको अनुसन्धानमा परेका व्यक्ति रहेका छन्। उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतले ३ असार २०८० मा स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसुरमा अनुसन्धान गरेको थियो। इलाका प्रहरी कार्यालय सुर्खेतले नै ७ असार २०८१ मा सुनारविरुद्ध आपराधिक प्रवेश तथा आपराधिक उपध्रवसम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो।
यस्तै, जिल्ला प्रहरी कार्यालय काभ्रेले सांसद सुनारविरुद्ध ३ असार २०८२ मा विद्युतीय कारोबार सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो। उक्त मुद्दा अहिले पनि विचाराधीन रहेको छ। सांसद सुनारविरुद्ध उक्त मुद्दामा पक्राउ पुर्जी रहेको छ।
सांसद सुनार विवाहित हुन्। उनले विवाहित ती महिलालाई बिहे गर्छु भन्दै आर्थिक शोषण गरेको आरोप लागेको छ। उक्त आरोप लागेपछि सांसद सुनारलाई पार्टीले सार्वजनिक कार्यक्रममा नजान र अभिव्यक्ति सार्वजनिक गर्न रोक लगाएको छ।
सांसद सुनारमाथि राष्ट्रिय अनुसन्धान विभागले समेत अनुसन्धान गरिरहेको छ। विभाग स्रोतका अनुसार सुनारले राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक सहायक सूचकसँग बिहे गरेको खुलेको छ। ती सूचकले विभागमै कार्यरत् अर्का एक सहायक सूचकसँग बिहे गरेकी थिइन्। सम्बन्धविच्छेदपछि सुनारले तिनै सूचकसँग प्रेम विवाह गरेको खुलेको छ।