२८ आश्विन २०८३, बुधबार
साताको तेस्रो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। साताको पहिलो सेयर कारोबार दिन सोमबारदेखि सकारात्मक देखिएको नेप्से परिसूचक आज २१.३२ अंकले वृद्धि भएर बन्द भएको हो।
अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा अडिएको थियो। त्यसको अघिल्लो दिन सोमबार नेप्से परिसूचक ४ अंकले बढेर २५९५.८१ विन्दुमा कायम भएको थियो।


नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएपनि कारोबार रकममा भने मंगलबारको तुलनामा कमी आएको छ। मंगलबार ४ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ४ अर्ब १३ करोडको सेयर खरिदबिक्री भयो। सोमबार ४ अर्ब ४६ करोडको सेयर कारोबार भएको थियो।
सेयर बजार दोहोरो अंकले वृद्धि भएपनि आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। १०.७५ प्रतिशत एसबीआई डिवेन्चर २०८९ को सेयर सर्वाधिक १३.२१ प्रतिशतले बढ्यो।
सगरमाथा जलविद्युत कम्पनीको सेयर ६.३२ प्रतिशतले घट्दा एभरेष्ट कलर,स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ३.७५,अपर लोहरे खोला हाइड्रोपावरको ३.६४ र सिटी होटलको ३.३३ प्रतिशतले घट्यो।
१३ वटै समूहको उपसूचक सकारात्मक देखिएका छन्। बैंकिङ,डेभलपमेन्ट र नन लाइफ इन्स्योरेन्स समूहको उपसूचक १ प्रतिशत बढिले बढ्यो।