३० कार्तिक २०८१, शुक्रबार
प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा अब विकासको गतिलाई कसैले रोक्न नसक्ने बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटी गुण्डू उपशाखाको शनिवार भएको एघारौं साधारण सभाको उद्घाटन गर्दै उनले भक्तपुरमा सञ्चालन भएका ठूलो विकासका आयोजना दुई वर्षमा सम्पन्न भइसक्ने बताए ।
बस्नेतले भक्तपुरमा राष्ट्रिय प्राणाी उद्यान, अन्तराष्ट्रिय रङ्गाशाला, काठमाडौं वल्र्ड स्कूल सुचारु भइसकेको, वीर अस्पतालको भवन शिलान्यास भएको, भक्तपुरमा निर्माण भएका ११ मिटरका हाइवे सडक निर्माणको क्रम तिब्र भएकाले विकास कसैले चाहेर पनि रोक्न नसक्ने ठोकुवा गरे ।
नेपाल रेडक्रस सोसाइटीका भक्तपुरका सभापति मनोजकुमार थापाले रेडक्रस सोसाइटीले मानवीय सेवाका साथसाथै सुशासनलाई अगाडि बढाएको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरीता कुँवरले रेडक्रस सोसाइटीले गरेको कामप्रति उच्च सराहना गरिन् ।
नेपाल रेडक्रस सोसाइटी गुण्डू उपशाखाका सभापति रामकुमार बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका सचिव राजाराम वाग्लेले वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
शनिवार नै सम्पन्न उपशाखाको एघारौं अधिवेशनमा रामकुमार बस्नेतको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । राजाराम वाग्ले, नगेन्द्र सापकोटा, राजेन्दकुमार खतिवडा, गणेश वाग्ले, मञ्जु थापा निरञ्जन कार्की, अनिता बस्नेत, राजु थापा, सुशील बस्नेत र मनकराम थापा चयन भएका छन् । उपशाखाको पहिलो बैठकले निर्वाचित सदस्यहरुलाई पदाधिकारीको जिम्मेवारी प्रदान गरिने नवनिर्वाचित सभापति बस्नेतले जानकारी दिए ।