आज २१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

होमल्याण्ड खबर

२०७५ माघ २ गते, बुधबार १०:३० मा प्रकाशित

१९९० माघ २ गतेको महाभूकम्प र त्यसबाट पुगेको जनधनको क्षतिको स्मरण गर्दै बुधबार २१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ। भूकम्पका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न जनचेतना फैलाउने र सुरक्षाका उपाय अवलम्बन गर्ने उद्देश्यले २०५५ सालदेखि यो दिवस मनाउन थालिएको हो।

यो पटक भूकम्प सुरक्षासम्बन्धी कार्यक्रममा स्थानीय तहलाई जिम्मेवार बनाउने उद्देश्यले मनाइँदैछ। भूकम्पीय जोखिमका दृष्टिले नेपाल विश्वको ११औँ स्थानमा छ। नेपालमा हरेक ८० देखि १०० वर्षको अन्तरालमा छदेखि आठ रेक्टर स्केलको भूकम्प जाने गरेको इतिहास छ।

१९९० सालमा नेपाल, भारत र तिब्बतलाई असर पार्ने गरी गएको आठ रेक्टर स्केलको भूकम्पमा नेपालमा मात्रै आठ हजारको ज्यान गएको थियो।

त्यसपछि पनि २०२२, २०३६ र २०४५ मा करिब छ रेक्टर स्केलका भूकम्प गएको थियो। २०६७ असोजमा सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले नेपालको पूर्वी भागमा केही क्षति गर्‍यो।

पछिल्लोपटक २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको आठ रेक्टर स्केलको भूकम्प र त्यसपछिका परकम्पले सर्वसाधारणमा त्रास उत्पन्न गराएको थियो।

नेपालको एकतिहाई क्षेत्रफललाई प्रभावित बनाएको यो भूकम्पमा परी करिब नौ हजार मानिसले जीवन गुमाएका थिए भने आठ लाखभन्दा बढी घर पूर्णरूपमा क्षतिग्रस्त भएका थिए।