आज देशैभरी मौसम बदलिने, राजधानीमा पानी पर्ने सम्भावना

होमल्याण्ड खबर

२०७५ माघ ८ गते, मंगलवार १०:५८ मा प्रकाशित

आज देशैभरी मौसम बदलिने जलवायु तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार मौसम बदलिने क्रम पश्चिमबाट पूर्वतर्फ सरेको छ । त्यसले गर्दा संघीय राजधानी काठमाडौं पनि आज दिनभरी प्रभावित हुनेछ । काठमाडौंमा आज दिनभरी बदली हुने र साँझतर्फ सामान्य वर्षापनि हुने मौसमविद्ले बताएका छन् ।

विभागका अनुसार विशेषगरी काठमाडौं भन्दा पश्चिमका केही क्षेत्रहरुमा हल्का वर्षा र उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात भईरहेको छ । देशको पश्चिमी भेगका धेरैजसो स्थानमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको विभागले जनाएको छ । बाँकी भुभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जनाइएको छ ।

आज बिहानको काठमाडौंको तापक्रम ५ डिग्री सेल्सीयस रहेको विभागले जनाएको छ । आज राति देशभर सामान्यतया बदली रहने र पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको जनाइएको छ । साथै पश्चिमी र मध्यका हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि संभावना रहेको र पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

यस्तै भोलि बुधबार दिउँसो देशभर सामान्यतया बदली हुने र देशको पहाडी भेगका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । त्यस्तै, देशको हिमाली भेगका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको जनाइएको छ । भोलि राति पनि देशभर सामान्यतया बदली हुने र देशको पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको जनाइएको छ ।
आज देशका विभिन्न स्थानमा व्यापक मात्रामा हिमपात भइरहेको जानकारी प्राप्त भएको छ ।