काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा

होमल्याण्ड खबर

२०७५ माघ ९ गते, बुधबार ०८:५५ मा प्रकाशित

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ ।

पश्चिमी वायुको प्रभावले पूर्वका थारै र मध्य तथा पश्चिममा धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यो प्रणाली अहिले पूर्वतिर सरिरहेकाले बुधबार काठमाडौंसहित पूर्वका धेरै ठाउँमा दिनभरी नै पानी पर्नेछ । पश्चिममा पनि मौसम खुल्ने संभावना छैन ।

यो प्रणाली बुधबार बेलुकीसम्म नै सक्रिय रहने भएकाले बिहीबारदेखि मात्रै मौसममा सुधार आउने महाशाखाको अनुमान छ ।

बुधबार दिउँसो पानी पर्ने भएकाले देशभरीकै अधिकतम तापक्रम घटेर चिसो हुने महाशाखाले जनाएको छ ।

पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पनि परेकाले पानी पर्न रोकिएपछि देशभर चिसो बढ्नेछ ।