२९ फाल्गुन २०८२, शुक्रबार
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाइँने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५५औं सोनाम ल्होसार हो ।


बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुँगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरी मनाउने प्रचलन छ ।
सोनाम ल्होसारका अवसरमा तामाङ समुदायले काठमाडौंको टुडिखेलमा वर्सेनिझैं यस वर्ष पनि विभिन्न कार्यक्रम गर्दैछन् ।
कार्यक्रममा तामाङ खाना, भेषभूषा, कला, संस्कृति लगायतको प्रदर्शन गर्ने गरिन्छ ।
नयाँ वर्षका रूपमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, भोटे, दुरा र लेप्चालगायतका जातिले ल्होसार पर्व मनाउने गर्छन् । जाति नै पिच्छे फरक–फरक समयमा ल्होसार मनाउने चलन छ ।
‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ ।
यस अवसरमा आज ३ नं प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।