९ मंसिर २०८१, आईतवार
सरकारी स्वामित्वमा रहेको दूरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर विभिन्न सेवामा प्याकेज र छुटको व्यवस्था गरेको छ । मंगलबार काठमाडौंमा आयोजित १५ औं वार्षिकोत्सव कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले माघ २२ गतेदेखि एक महिनासम्मका लागि लागू हुने गरी एनटी मोबाइल एप डाउनलोड र रजिष्ट्रेशनमा निःशुल्क एक सय एमबी डाटा उपलब्ध गराउने लगायतका प्याकेज तथा छुटको व्यवस्था गरिएको जानकारी गराए ।
सोही योजनाअनुसार कम्पनीले माघ २३ गतेदेखि लागू हुने गरी फागुन ८ गतेसम्म रजिष्टर हुने नयाँ पोष्टपेड ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना १ जिबी अलटाइम डाटा र सय मिनेटसम्म भ्वाइस बोनस दिने घोषणा पनि गरेको छ । प्रबन्ध निर्देशक अधिकारीले पोष्टपेडका ग्राहकलाई नौ सयको रिचार्जको प्याकेजमा प्रतिमहिना ३ दशमलव ३ जिबी डाटा र ५ सयको रिचार्जमा फ्रि रिसोर्स उपलब्ध गराउने पनि जानकारी दिए । त्यसै गरी टेलिकमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर टुरिष्ट प्याकेज अन्तर्गत ५ सय रुपैयाँमा ५ जिबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाइस कल र सय रुपैयाँको अन्तर्राष्ट्रिय कल समेत गर्न सकिने छुटको पनि व्यवस्था गरेको छ ।
प्रबन्ध निर्देशक अधिकारीले २०७४ सालको असार मसान्तसम्म टेलिफोनको बक्यौता तीर्न बाँकी रहेका ग्राहकहरुले २०७६ असार मसान्तसम्म बुझाएमा जरिवाना छुट गर्ने व्यवस्था पनि वार्षिक कार्यक्रमको अवसरमा गरिएको बताए । नेपाल टेलिकमले नेत्रहिन नागरिकहरुलाई पनि सिडिएम र जिएमएस सेवामा पनि भारी छुटको व्यवस्था गरेको छ ।