३ चैत्र २०८२, मंगलवार
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका सभामुख सेन ओ फेरगेलबीच शिष्टचार भेटवार्ता भएको छ ।
नेपाल भ्रमणमा रहेको सभामुख सेन नेतृत्वको प्रतिनिधमण्डले बुधबार अध्यक्ष तिमिल्सिनासँग सिंहदरबारस्थित उनको कार्यकक्षमा भेटवार्ता गरेको हो ।


भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र आयरल्याण्डको दुई पक्षीय सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको बताए । दुई देशको सम्बन्ध, सहकार्य र अनुभव आदान-प्रदानका लागि दुई देशबीच उच्चस्तरीय भ्रमण जरुरी रहेको धारणा राखे ।
अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संरचनाबारे जानकारी गराउँदै संघीय संसदको गठन तथा कानून निर्माणबारे जानकारी गराए । ‘संघीय संसदअन्तर्गत ५९ सदस्य रहेको राष्ट्रियसभामा सात प्रदेशबाट समान प्रतिनिधित्व रहेको छ,’ उनले भने, ‘राष्ट्रियसभामा ४० प्रतिशत महिला, प्रत्येक प्रदेशबाट एकजना दलित, एकजना अपाङ्ग वा अल्पसंख्यक रहने व्यवस्था छ र राष्ट्रियसभा अत्यन्त समावेशी छ ।’
भेटमा तिमिल्सिनाले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले उल्लेख्य संख्यामा आयरल्याण्डका पर्यटकलाई नेपाल भ्रमण गर्न सभामुखमार्फत आग्रह गरे । ‘तथ्यांकअनुसार आयरल्याण्डबाट वार्षिक करिब तीनहजार पर्यटक नेपाल आउने गरेका छन्,’ उनले भने, ‘अब त्यो संख्या तीसहजार पुग्ने विश्वास लिएको छु।’
नेपाल हिमालदेखि तराईसम्म भौगोलिक विविधता र प्राकृतिक रुपमा सुन्दर भएकाले भ्रमण गर्न आग्रह गरे । उनले आयरल्याण्ड युरोपियन युनियनको सदस्य राष्ट्र भएकाले नेपाली ध्वजावहाक जहाजलाई युरोपको आकासमा उडानका लागि खुल्ला गर्नका लागि पहल गर्न आग्रह गरे ।
त्यसैगरी, आयरल्याण्डका सभामुख सेन ओ फेरगेलले नेपालको संसदको निमन्त्रणामा न्यानो आतिथ्यताका साथ भ्रमण गर्न पाउँदा खुसी व्यक्त गरे ।
उनले आइरल्याण्डमा रहेका नेपाली नागरिकको सक्रियता र प्रेरणाका कारण नेपाल भ्रमणमा आएको उल्लेख गरे । आयरल्याण्ड सानो मुलुक भएपनि युरोपियन युनियनमा सक्रिय रहेकाले नेपाली जहाजलाई लागेको प्रतिबन्ध हटाउन पहल गर्ने बताए ।
सभामुख सेन नेतृत्वको टोलीमा सांसदहरु मौरिन सुल्लिभान, क्याथरिन नूनलगायतको सहभागिता रहेको थियो ।