३ चैत्र २०८२, मंगलवार
प्रधानमन्त्री केपी ओलीले बालबालिकाका विरुद्धमा हुने हिंसा, शोषण एवं दुर्व्यवहार कुनै पनि हालतमा सह्य नहुने बताएका छन् ।
राष्ट्रिय बाल दिवसका अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उनले अभिभावकविहीन बालकालिकाको अभिभावकत्व राज्यले लिने बताए ।


प्रधानमन्त्रीले सन्देशमा कुनै पनि बालबालिकाले सडकमा जीवन गुजार्नु नपरोस् भन्ने उद्देश्यले सडक बालबालिकाको व्यवस्थापन, बालश्रम निमूर्लन र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको जीवनमा परिवर्तन गर्न सरकारले विशेष पहल थालेको प्रष्ट पारेका छन् ।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य वार्षिक कार्यक्रम, अल्पअवधिको विषय वा कार्ययोजना मात्र होइन यो दीर्घकालीन राष्ट्रिय अभिष्ट भएको र यसलाई हासिल गर्न योग्य, सक्षम, सुशिक्षित, गुणवान नागरिक चाहिने बताए ।
‘यसका लागि आजैदेखि हाम्रा बालबालिकालाई पोषणयुक्त खाना, उचित व्यायाम, स्वस्थ मनोरञ्जन, आवश्यक आरामको अवसर, जीवनपयोगी शिक्षा र सामाजिक सुसंस्कार प्रदान गर्नु हामी सबैको दायित्व हो’, प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ।