धनुषामा करेन्ट लागेर होटल सञ्चालकसहित ३ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७६ आश्विन ८ गते, बुधबार १२:२३ मा प्रकाशित

धनुषाको एक होटेलमा फ्रिजबाट करेन्ट लागेर श्रीमान्-श्रीमतीसहित ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका-७, पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजबाट करेन्ट लागेर गएराति ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा होटेल सञ्चालक ५५ वर्षका शिवकुमार महतो, उनकी श्रीमती र होटेलमा काम गर्ने एकजना महिला कामदार रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । दुई जनाको नाम खुल्न सकेको छैन ।

घरमा सुतिरहेका बेला विद्युत सर्ट भएर तार खस्दा उनीहरूलाई करेन्ट लागेको प्रहरीको अनुमान छ ।

घटना रातिकै भए पनि बिहान कोही नउठेपछि हेर्दा तीनैजना करेन्ट लागेको अवस्थामा मृत फेला परेका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तीनै जनाको शव अञ्चल अस्पताल जनकपुरमा लगिएको छ ।