३ चैत्र २०८२, मंगलवार
सभामुख कृष्णबहादुर महरामाथि एक महिला कर्मचारीले लगाएको दुर्व्यवहारको आरोप निराधार भएको उनको सचिवालयले दाबी गरेको छ ।
संसद् सचिवालयमा काजमा कार्यरत महिलाले आफ्नै कोठामा आएर सभामुख महराले आइतबार राति यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।


सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले सोमबार राति विज्ञप्ति जारी गरी महिलाले लगाएको आरोपको खण्डन गरेका हुन् ।
मल्लले विज्ञप्ति जारी गर्दै सभामुख महरालाई सुनियोजित र योजनाबद्ध रुपमा फसाउन खोजिएको उल्लेख छ । कर्मचारी समायोजनमा चित्त नबुझ्दा महिला कर्मचारीले सभामुखको बारेमा पुरै गलत, कपोकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखसमेत दुखित र आश्चर्यचकित भएको विज्ञप्तिमा उल्लेख छ ।
मल्लद्वारा सोमबार राति जारी विज्ञप्तिमा भनिएको छ ‘सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु’ ।
समाचारमा आएको जस्तो चश्मा र जुत्ताका कुरा पनि पुरै निराधार भएको भन्दै चश्मा सभामुख महरासँगै रहेको सभामुखले त्यस प्रकारको जुत्ता प्रयोग नगरेको सचिवालयले जनाएको छ ।
ती महिलाले आइतबार राति ८ बजे महरा रक्सीसहित आफ्नो कोठामै आएर दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । रक्सीले मातिएका महराले चश्माको खोल आफ्नो कोठामै छाडेको दाबी पनि ती महिलाको छ ।
असोज १२ गते आइतबार दिउँसो १२ बजे सभामुख सिंहदरबारमा रहेको आफ्नो कार्यालयमा गएर २ बजे बालुवाटारमा रहेको निवासमा फर्किएपछि त्यस दिन अन्यत्र कही नगएको पनि विज्ञप्तिमा उल्लेख छ ।