अमेरिकी डाइभर्सिटी भिसा (ईडिभी) को आवेदन आजदेखि खुल्यो

होमल्याण्ड खबर

२०७६ आश्विन १५ गते, बुधबार १२:५० मा प्रकाशित

२०२१ का लागि अमेरिकी डाइभर्सिटी भिसा (ईडिभी)को आवेदन आजदेखि खुला गरेको छ । अमेरिकाको आप्रवासी ऐन (इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार डिभीका लागि आवेदन खुल्ला गरेको हो ।

२०१९ अक्टोबर २ देखि नोभेम्बर ५ सम्म अनलाइनमार्फत डीभीको लागि आवेदन दिन सकिन्छ ।

सन् २०२१ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडिभी) आवेदन फारम भर्नु पर्नेछ।

अघिल्ला वर्षका शर्त यथावत राख्दै यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ । साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्नेछ ।

डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा जनाइएको छ । नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हुन शुल्क लाग्दैन । डीभी फर्म एक पटकभन्दा धेरै समय नभर्न अमेरिकी दूतावासले आग्रह गरेको छ ।

यस्तै डीभी फर्म भर्दा अघिल्लो पटक प्रयोग भएका फोटाहरु राखेर डीभी भरेमा वा चस्मा लगाएको फोटो राखेर डीभी भरेमा त्यस्ता उम्मेदवार अयोग्य हुने पनि दूतावासले जानकारी दिएको छ ।

अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटोसम्बन्धी नियमहरु कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरुसँग मेल खाने गरी पेश गर्नु पर्नेछ ।

डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । यही नम्बरका आधारमा छनोट भए–नभएको हेर्न सकिनेछ । आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना समेत दिनुपर्ने हुन्छ ।