महरा काण्ड खुलासा गर्ने पत्रकार सिवाकोटीलाई प्रहरी सुरक्षाको माग

होमल्याण्ड खबर

२०७६ आश्विन १६ गते, बिहीबार १६:५० मा प्रकाशित

निवर्तमान सभामुख कृष्णबहादुर महरा र संसद सचिवालयकी कर्मचारी रोशनी शाही प्रकरणलाई पहिलोपटक प्रकाशित गर्ने पत्रकार अजयबाबु सिवाकोटीलाई प्रहरीले सुरक्षा दिएको छ ।
उनका लागि प्रत्यक्ष सुरक्षाकर्मी नखटाइए पनि सुरक्षा निगरानी भने बढाएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । परिसरका डिएसपी होबिन्द्र बोगटीले सिवाकोटीको सुरक्षाबारे सचेत भएर सामान्य निगरानी गरिरहेको बताए ।

काठमाडौं प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले सिवाकोटीको सुरक्षाबारे सचेत भएर सामान्य निगरानी गरिरहेको बताए । उनले यस्तो इस्यु परेको मानिसलाई असुरक्षा छ कि भनेर हेर्नु सामान्य भएको भन्दै सुरक्षाका दृष्टीले निगरानी मात्र गरेको बताए ।

पत्रकार सिवाकोटीका अनुसार आफूलाई बुधवार एक प्रहरी अधिकारीले आफै फोन गरेर हामीले निगरानी गरिरकेका छौं भनेका थिए । बिहीबार बिहान सिवाकोटीले आफू र आफ्नी पत्निलाई विभिन्न अनजान नम्बरबाट निरन्तर फोन आइरहेको, राजधानीका दुई रेष्टुरेन्टमा बसेर केही व्यक्तिहरूले आफूविरूद्ध आक्रमण गर्ने छलफल गरेको सूचना थाहा पाएको बताएका छन् ।
सिवाकोटीले सोमबार रोशनीले महरालाई लगाएको आरोपबारे भिडियो सहितको रिपोर्ट आफ्नो अनलाईनमा प्रकाशित गरेका थिए । त्यही खुलासापछि महराले सभामुख पदबाट राजिनामा दिइसकेका छन् ।

तर, मंगलबार भने रोशनीले सिवाकोटीले भन्दै नभनेको कुरा छापेको भनेर अर्को मिडियासँग भिडियो अन्तरवार्ता दिएकी छन् । उनले महराले आफूमाथि कुनै प्रकारको दुर्व्यवहार नगरेको दाबी समेत गरेकी छन् । उनले बुधबार त्यही ब्यहोराको निवेदन प्रहरीमा दिइसकेकी छन् ।
विहीबार रोशनी र उनका श्रीमानले सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाइसकेको जनाएका छन् ।