बीआरआईअन्तर्गत चीनको सहयोगमा दक्षिण एसियाकै आधुनिक औद्योगिक पार्कको निर्माण कार्य सुरु

होमल्याण्ड खबर

२०७६ आश्विन १७ गते, शुक्रबार ११:३० मा प्रकाशित

नेपालमा दक्षिण एसियाको सबैभन्दा आधुनिक औद्योगिक पार्क निर्माण हुने भएको छ । उक्त पार्क चिनियाँ सहयोगमा झापामा निर्माण हुन लागेको हो । बिहीबार साँझ एक कार्यक्रमको घोषणा गरी पार्क निर्माणको शुभारम्भ घोषणा गरिएको हो । एक हजार छ सय हेक्टरमा निर्माण गरिने औद्योगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर लगानी गरेर निर्माण कार्य हुनेछ । सो औद्योगिक पार्क काम, आराम, मनोरन्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने चिनियाँ प्रतिनिधि मण्डलका नेता जोउ चेङ जीले बताए ।

औद्योगिक पार्क निर्माणका लागि लगानी बोर्डको कार्यालय र दमक क्लिन इन्डष्ट्रियल पार्कबीच समझदारीमा हस्ताक्षर भएको हो । चीन–नेपाल मैत्री औद्योगिक पार्क’ नाम राखिएको सो पार्कका अध्यक्ष गोविन्द थापा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले हस्ताक्षर गरे । झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिको क्षेत्र ओगट्ने यस पार्क निर्माणका लागि ती ठाउँमा जग्गा प्राप्तिका सबै प्रक्रिया पूरा भएकोले निर्माण अघि बढाउन लागिएको जनाइएको छ । चीनले अघि सारेको बेल्ट एण्ड रोड परियोजनाअन्तर्गत नेपालमा बन्न लागेको यो पहिलो परियोजना हो । औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले पार्क निर्माण कार्य नेपालको सबैभन्दा प्रभावकारी, आकर्षक र पारदर्शी हुने दावी गरे । उनले औद्योगिक पार्क निर्माणपछि नेपालमा विकासको नयाँ मोडल स्थापित हुने बताए । थापाले भने– नेपालीले विकासको ठोस परियोजनाको उदाहरण दिनुपर्दा विदेशतिरको दिनुपथ्र्याे । अब दमकले नेपाल र नेपालीका लागि उदाहरणीय र गर्व गर्न लायक विकासको मोडल तयार हुनेछ ।’ चिनियाँ प्रतिनिधिमण्डलका नेता जोउ चेङ जीले औद्योगिक पार्क उद्योग र सहरको एकीकृत विकासको मोडलमा तयार पारिने बताए । उनले पार्क दक्षिण एसियाको एकमात्र आधुनिक औद्योगिक क्षेत्रको रुपमा विकास हुने र औद्योगिक पार्क बनेपछि दशौं हजारले रोजगार पाउने बताए । औद्योगिक पार्क बनेपछि नेपालमा ठूलो परिमाणमा राजश्व वृद्धि हुने पनि बताए । त्यसैगरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले यो औद्योगिक पार्क निर्माणले नेपालको विकासमा ठूलो योगदान पुग्ने बताए । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले दमकमा निर्माण हुने औद्योगिक पार्क नेपालकै मोडेल परियोजना हुने बताए । नेपालमा पीपीपी मोडलमा जलविद्युत आयोजनाबाहेक अन्य खाले निर्माण कार्य नभएको बताउँदै बस्नेतले यो औद्योगिक पार्क पीपीपी मोडलको पहिलो गैरजलविद्युत आयोजना भएको बताए ।