३ चैत्र २०८२, मंगलवार
नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को केन्द्रीय कार्यालय परिसरमा मलेसियन रेडक्रिसेन्ट सोसाइटीको आर्थिक सहयोगमा निर्मित आपत्कालीन कार्य सञ्चालन केन्द्रको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा र मलेसियन रेडक्रिसेन्ट सोसाइटीका महामन्त्री दातो सइद ए रहमान बि सइद मोहम्मदले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
नेपालमा आइपर्ने जुनसुकै आपत्कालीन परिस्थिति पनि केन्द्रीयस्तरदेखि स्थानीय स्तरसम्म विपद् प्रतिकार्य, उद्धार, राहत र पुनर्लाभ जस्ता कार्यहरू सहजै सरल र समन्वयात्मक तवरले सम्पन्न गर्नका लागि सो कार्य सञ्चालन केन्द्र निर्माण गरिएको हो ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले मलेसियन रेडक्रिसेन्ट सोसाइटी र नेपाल रेडक्रस सोसाइटी बीचको सम्बन्ध प्रगाढ गर्न उक्त आपत्कालीन कार्य सञ्चालन केन्द्र सधैभरी सम्झनाको रूपमा रहिरहने बताए ।
नेपालमा जुनसुकै बखत पनि आइपर्ने आपत्कालीन अवस्थाको सामना गर्नको लागि एक साझा स्थल निर्माण भएको अध्यक्ष थापाले उजागर गरे ।
मलेसियन रेडक्रिसेन्ट सोसाइटीका महामन्त्री दातो सइद ए रहमान बि सइद मोहम्मदले नेपाल रेडक्रस सोसाइटी र मलेसियन रेडक्रिसेन्ट सोसाइटी बीच विगत चार दशकभन्दा लामो समयदेखि साझेदारी रहँदै आएको बताए ।
महामन्त्री मोहम्मदले भने, “मलेसियन रेडक्रिसेन्ट सोसाइटी र मलेसियन जनताको तर्पmबाट नेपाल रेडक्रस सोसाइटीलाई सहयोग गर्न पाएकोमा हामी निकै खुशी छौं ।” उनले आगामी दिनहरूमा समेत नेपाल रेडक्रस सोसाइटीलाई निरन्तर सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
नेरेसोको आर्थिक स्रोत व्यवस्थापन विभागका कायम मुकायम निर्देशक धर्मदत्त विडारीले मलेसियन रेडक्रिसेन्ट सोसाइटीबाट आपत्कालीन केन्द्र निर्माणका लागि सम्झौता भएको रकम, प्राप्त रकम र हालसम्म भएको खर्चको अवस्थाका बारेमा प्रस्तुति गरे । मलेसियन रेडक्रिसेन्ट सोसाइटीले वि.सं. २०७२ सालको भूकम्प पश्चात् आपत्कालीन कार्य सञ्चालन केन्द्र निर्माण गर्नका लागि जम्मा एक करोड अठ्चालीस लाख चौवालीस हजार पाँच सय चौरासी रूपैंया सहयोग गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (फेडेरेशन) का नेपाल प्रमुख जुजा किम, नेरेसो विपद् व्यवस्थापन विभागका उपनिर्देशक रूद्रनारायण अधिकारी, जुनियर इन्जिनियर मनिष तिम्सिनालगायतले नेपालमा सधैभरी कुनै न कुनै किसिमको प्राकृतिक विपद् परिरहने भएकाले यस कार्य सञ्चालन केन्द्रले विपद् व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताए ।
नेपाल रेडक्रस सोसाइटीको आपत्कालीन कार्य सञ्चालन केन्द्र, यसका उद्देश्यहरू र यसबाट सञ्चालन गरिने गतिविधिहरूका बारेमा नेरेसो विपद् व्यवस्थापन विभागका निर्देशक मोना अर्यालले प्रस्तुति गरेकी थिइन् ।