३ चैत्र २०८२, मंगलवार
नेपाली सेनाले संयुक्त अधिराज्य(बेलायत)मा सञ्चालित ‘क्याम्ब्रियन पेट्रोल २०१९’ अभ्यासमा स्वर्ण पदक प्राप्त गरेको छ ।
नेपाली सेनाका प्रमुख सेनानी अशिमदेव गुरुङ्गको नेतृत्वमा दश जनाको सैनिक टोलीले अभ्यासमा उत्कृष्ट गर्दै स्वर्ण पदक जितेको हो ।बेलायतको वेल्स, ब्रेकनमा असोज २४ गतेदेखि दुई दिनसम्म उक्त कठीन प्रकृति अभ्यास सुरु भएको थियो ।


बेलायतको १०६ र नेपालसहित ३४ अन्य राष्ट्रका गरी १४० टोली उक्त अभ्यासमा सहभागी भएको थियो । युद्धकालीन विशेष परिस्थितिहरुको कल्पना गरी शत्रुपक्षको गतिविधि समेटेर सञ्चालन गरिने विश्वस्तरीय सैन्य अभ्यासमा नेपाल २०१४ देखि सहभागी हुँदै आएको छ ।
अभ्यास भने बेलायतले १९६० बाट नै वार्षिक रुपमा सञ्चालन गर्दै आएको छ ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार २४ असोजबाट संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा अभ्यास भएको थियो, जसमा नेपालसहित ३४ देश र बेलायती फौजका १०६ समेत गरी १४० सैन्य टोली सहभागी थिए ।
नेपालबाट गुरुङको नेतृत्वमा गएको टोलीमा विशेष फौज बाहिनी, श्री पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मका सदस्यहरु सहभागी थिए ।
अभ्यासमा सहभागी हुँदा मित्रराष्ट्र बेलायतसँगको सैन्य सम्बन्ध र अन्य सहभागी सेनाबीचको मैत्री सम्बन्ध प्रगाढ बनाउने विश्वास गरेको छ ।