भोटिङ सिष्टममा गडबडी आएपछि गैरआवासीय नेपाली संघको मतदान पुनः सुरु

होमल्याण्ड खबर

२०७६ आश्विन ३० गते, बिहीबार १२:११ मा प्रकाशित

हिजो राति गैरआवासीय नेपाली संघको निर्वाचन स्थगित भएको थियो ।  चार मत खसेपछि आएको भोटिङ सिष्टममा गडबडी आएपछि स्थगित भएको निर्वाचत पुनः सुचारु भएको छ । आजको मतदान मतपत्र खसालेर सुरु भएको हो ।

उक्त चार मतलाई बदर गरेर मतदान सुरु गरिएको अध्यक्षका उम्मेदवार कुमार पन्तले जानकारी गराए । उनका अनुसार अहिले भने मतदानमा कुनै समस्या रहेको छैन ।

८१ मुलुकमा शाखा रहेको एनआरएनएको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष कुमार पन्त र कुल आचार्य प्रतिस्पर्धामा उत्रिएका छन् । याे सम्मेलनमा २५ सयभन्दा बढी गैरआवासीय नेपाली सहभागी रहेका छन् ।

राति निर्वाचन स्थगित भएपछि मतदाताहरु आक्रोशित भएका थिए । मतदाताहरुले नाराबाजी गरेका थिए । करिब तीन घण्टा ढिलो गरी सुरु भएको मतदान पुनः स्थगित गर्दा उनीहरु आक्रोशित भएका थिए ।

संघको मंगलबारदेखि नवौँ अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनबाट केन्द्रीय समितिको ४२ जना पदाधिकारीको निर्वाचित हुनेछन् ।