आलम प्रकरण : तत्कालिन सशस्त्र एसपी लामाले लास बोकेको ट्रयाक्टरको स्कर्टीङ गरे

होमल्याण्ड खबर

२०७६ कार्तिक ५ गते, मंगलवार १५:५९ मा प्रकाशित

रौतहट राजपुर बमकाण्डका मृतक र घाइतेलाई बोकेर इटाभट्टाको चिम्निसम्म पुर्याउने ट्रयाकटरबारे प्रहरीले अनुसन्धान थालेको छ ।

घटनामा प्रयोग भएको ना१त ६४७२ नम्बरको ट्याक्टर फेला परेको र त्यसको अनुसन्धान थालिएको रौतहट प्रहरीले जनाएको छ । त्यसबेला उक्त ट्रयाकटरलाई तत्कालिन सशस्त्र प्रहरीका एसपी रामकृष्ण लामाले स्कर्टिङ गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

गहुबारीमा लुकेर घटना हेरेका मृतक ओशी अख्तरका ससुरा सरुअठाका समसुल आलमले पनि घटनाका बेला ट्याक्टरमा घाइतेहरुलाई बोरामा राखेर इँटाभट्टासम्म लगेको बताइ सकेका छन् ।

समसुलले लामाले नै स्कर्टिङ गरी उक्त ट्रयाकटर लगेको दाबी गरेका छन् ।

यता, उक्त प्रकरणका मुख्य नाइके सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताल आलम १२ वर्षपछि पक्राउ गरिएका थिए । उनीमाथि अनुसन्धान जारी छ । तर, मंगलबार उनले पोलिग्राफ टेस्ट गर्न मानेका छैनन् ।

अनुसन्धानका क्रममा आलमले झूठ बोले नबोलेको पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय रौतहटले पोलिग्राफ टेस्ट गर्ने तयारी गरेको थियो ।