विदेशमा संक्रमित मध्ये ९८ प्रतिशत नेपाली काेराेना मुक्त

होमल्याण्ड खबर

२०७७ असार २८ गते, आईतवार ११:४५ मा प्रकाशित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण विदेशमा नेपालीको मृत्यु हुने क्रम यस साता रोकिएको छ । काेराेना संक्रमणको दर उल्लेख्य रुपमा कम भएकाे छ ।  संक्रमित मध्ये ९२ प्रतिशत नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या र संक्रमणको दरमा कमी हुँदै गएको छ । संघका अनुसार कुल संक्रमित मध्ये ९२ प्रतिशत नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्वभर २९ हजार ६ सय २४ जना मध्ये २७ हजार ३ सय ६२ जना नेपाली संक्रमण मुक्त भएको एनआरएनएले जनाएको छ ।

संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अबर लगायतका देशमा रहेका नेपालीमा साता कोरोना संक्रमण दर सामान्य रुपमा वृद्धि भएको छ । गतसाता सम्म १४ देशका १ सय ४३ जना नेपालीको विदेशमा कोरोनाका कारणले ज्यान गएको थियो । नेपाल लगायत मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमण जारी रहेको प्रति एनआरएनए स्वास्थ्य समितिले चिन्ता व्यक्त गर्दै स्थानीय सरकारले जारी गरेका स्वास्थ्य सम्बन्धी सूचनालाई कडाईका साथ पालना गर्न आग्रह गरेको छ ।

यसैबीच नेपाल सरकार, कुटनीतिक निकाय र एनआरएनएको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गएर उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपालीको उद्धार गरिएको छ । विभिन्न एयरलाइन्सका १ सय ४९ उडान फ्लाइटमार्फत उनीहरुको उद्दार गरिएको हो ।  जेठको मध्यदेखि शुरू उद्धार उडानमार्फत हालसम्म संयुक्त अरब एमिरेट्स युएईबाट ५ हजार ५ सय २७ सय जनाको उद्धार भएको छ ।

कुवेतमा आममाफी पाएका र अन्य अलपत्र गरी धेरै ५ हजार २ सय ४३ जनाको उद्धार गरिएको छ । यस्तै साउदी अरबबाट ४ हजार ३० जना, मलेसियाबाट ३ हजार ५३, कतारबाट २ हजार ८ सय ८४ जनाको उद्धार गरिएको हो । यस्तै अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४८३, म्यानमारबाट २६, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट ४७६, बंगलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, श्रीलंकाबाट ५, सिंगापुरबाट १४६, हङकङबाट ८९, बहराइनबाट ५६७, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७ र चीनबाट १०५ जनालाई स्वदेश फर्काइएको हो ।

यसै अवधिमा १ सय ५७ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ६ जनामध्ये १ सय ४६ जनाको परिवारको सहमतिमा देशमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १ सय ९ वटा शव नेपाल ल्याउन बाँकी छ ।