८ मंसिर २०८१, शनिबार
सरकारले आगामी आर्थिक वर्ष ०७५र७६ का लागि भवन र सहरी विकासतर्फ ३३ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले जनता आवास, मेगा सिटी, संसद् भवन निर्माणलगायतका लागि सो रकम विनियोजन गरेको हो । अर्थमन्त्री खतिवडाले सघन सहरीकरण कार्यक्रम अन्तरगत तराईका २१ जिल्लामा सदरमुकाम सहरहरुको पूर्वाधार विकास तथा सौन्दर्यीकरणका लागि आयोजना सञ्चालन गरिने पनि उल्लेख गरिएको छ । तर उक्त कार्यका लागि कति बजेट छुट्याएको भन्ने बारेमा बजेटमा समेटिएको छैन् ।
मेगा, हरित र स्मार्ट सिटीको प्रसंग यसपटक पनि दोहोरियो
सरकारले सम्भाव्यताका आधारमा सहरहरूलाई मेगा सिटी, हरित सहर र स्मार्ट सिटीका रूपमा विकास गर्न बजेट विनियोजन गरेको छ । अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दै सरकारले मनोरञ्जनलगायत अत्यावश्यक सुविधासहितको सहरी पूर्वाधार निर्माणमा जोड दिइने बताएको छ । साथै, ऐतिहासिक एवं सांस्कृतिक महत्वका सहरहरूको पुनरुत्थान गर्न कार्यक्रम सञ्चालन गरिनेसमेत सरकारले घोषणा गरेको छ ।
सरकारले संघीय संसद् भवन निर्माण सुरु गर्न आवश्यक बजेट विनियोजन गरेको छ । प्रदेश राजधानी र स्थानीय तहका केन्द्रहरूको एकीकृत पूर्वाधार विकास गुरुयोजना तयार गर्न आवश्यक बजेटको व्यवस्था गरिनेसमेत सरकारले बताएको छ । त्यस्तै, सरकारले बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।