३१ बैशाख २०८३, बिहीबार
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे धावनमार्गमा आजबाट उडान र अवतरण सुरु भएको छ । रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भई उद्घाटनको तयारीमा रहेको विमानस्थलमा बिहान ७ बजेर १५ मिनेटमा यती एयरले पहिलो उडान भरेर र ७ बजेर ४५ मिनेटमा बुद्ध एयरले पहिलो अवतरण गरी रनवे प्रयोगमा ल्याइएको हो ।
१५ सय मिटर लामो धावनमार्गबाट आन्तरिक उडान गर्दै आएको विमानस्थलले नवनिर्मित धावनमार्गबाट अबको आन्तरिक उडान गर्ने निश्चित भएको हो । सन् १९५८ जुलाई ८ तारिखबाट सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थलले ६४ वर्षको अन्तरालमा नयाँ धावनमार्गबाट उडान सुरु गरेको छ ।


नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको गौतमबुद्ध विमानस्थल बुद्धजयन्तीकै अवसर पारेर अन्तर्राष्ट्रिय उडानको उद्घाटन जेठ २ गतेबाट हुँदैछ ।
विमानस्थल सञ्चालन नागरिक उड्डयन प्राधिकरणले, ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमले, फ्लाइट क्याटरिङको सेवा सोल्टी क्राउनले र कार्गो व्यवस्थापनको काम नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गर्ने गरी तयारी रहेको महाप्रबन्धक दाहालले बताए ।
अन्तर्राष्ट्रिय उडानको तयारीअनुसार विमानस्थल कार्यालयले भन्सार विभाग, अध्यागमन विभाग तथा सुरक्षा निकाय लगायतसँगको छलफलपछि जेठ २ गते अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीअनुसार १५ दिन पहिल्यै उडान सेवा दिन तयारी अवस्थामा रहन पत्र काटिसकिएको उनले बताए । विमानस्थलको ग्राउन्ड ह्यान्डलिङका लागि नेपाल एयरलाइन्सले जहाजबाट ओर्लन प्रयोग हुने भर्याङ, लगेज क्यारिअरजस्ता साधन विमानस्थल पुर्याइसकेको छ ।