३ चैत्र २०८२, मंगलवार
माओवादी धारालाई आधार मानेर बनेका पार्टीहरूको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा नेकपा(माओवादी)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी रहेको उनको सचिवालयले जानकारी दिएको छ ।
प्रधाननमन्त्री दाहाललाई सशस्त्र द्वन्द्वकालीन मुद्दा दर्ता गर्ने आदेश सर्वोच्च अदालतले दिएपछि त्यसविरुद्ध माओवादी धारका नेताहरूको एउटै स्वर देखिएको छ । सहिद तथा वेपत्ता योद्धा सन्तती फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागी माओवादी धारका नेताहरुले माओवादीलाई हेप्न थालिएकाले एकजुट भएर प्रतिकार गर्नुपर्ने धारणा राखेका थिए ।


माओवादी धारका नेताहरुबीच सकेसम्म पार्टी एकता र त्यो तत्काल सम्भव नभए कार्यगत एकता गर्ने पहल गर्दै आएका छन् । आजको बैठकमा पनि त्यसैबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि माओवादी नेताहरुबीच छलफल बाक्लो हुँदै गएको छ ।
बैठकमा यसैबारेमा छलफल हुने र एउटै धार भएका पार्टीहरूको पुनः एउटै पार्टी बनाउने भन्नेबारे पनि कुराकानी हुने एक नेताले जानकारी दिए ।
बैठकमा मोहन वैद्य नेतृत्वको नेकपा माओवादी(क्रान्तिकारी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, डा. बाबुराम भट्टराई अध्यक्ष रहेको समाजवादी पार्टी, ध्रमेन्द्र बास्तोला संयोजक रहेको नेकपा बहुमतलगायतका माओवादी धारका पार्टीका नेताहरू सहभागी छन् ।
बैठकमा प्रधानमन्त्री, डा. भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओली लगायत सहभागी छन् ।