३ चैत्र २०८२, मंगलवार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि हुन लागेको राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भन्नेबारेमा आज निर्णय लिँदैछ । त्यसका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आज कार्यसम्पादन समिति बैठक बोलाएका छन् ।
दिउँसो एक बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकले राष्ट्रपति निर्वाचनमा ९दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल या एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मतदान गर्ने वा तटस्थ बस्ने भन्नेबारे निर्णय लिनेछ ।


‘राष्ट्रपतिको निर्वाचनका बारेमा बैठकमा छलफल हुनेछ,’ राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने । उनका अनुसार बैठकमा समसमायिक राजनीतिक बिषयमा पनि छलफल हुनेछ ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिदैँ सरकारवाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार कांग्रेसका नेता पौडेललगायतसँग गठबन्धनमा आवद्ध नेताहरुसँग यसअघि नै छलफल गरिसकेको छ ।
आफनो पार्टीसँग मत माग्न आएका पौडेललगायतका गठबन्धन आबद्ध राजनीतिक दलसँग सोमबार साँझ छलफल गरेको थियो ।