३ चैत्र २०८२, मंगलवार
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरूलाई सरकारमा सम्मानजनक सहभागिता गराउनु पर्ने माग राखेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्य कारिणी समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता शरदसिंह भण्डारीले सरकारमा सहभागी हुने दलहरूलाई सम्मानजनक सहभागिता गराउनु पर्ने बताएका हुन् ।


‘सरकार गठनको प्रक्रियाबारे छलफल भएको छ, हाम्रो दल पनि १० दलीय गठबन्धनमा सामेल छ, अहिले जुन कोर्ष करेक्शनको कुरा छ, अर्थात् प्रि इलेक्शन अनाउन्स अघिको गठबन्धन शुरु भएको छ, त्यति बेला नेपाली कांग्रेसको गठबन्धनमा लोसपा पनि सहभागी थियो,’ उनले भने, ‘यो गठबन्धनलाई पाँच वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको डेलिभरी दिने र सुशासन, समृद्धि र कानुनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय भएको छ, गठबन्धनमा भएका पार्टीहरूको सम्मानजनक उपस्थिति हुनु पर्छ ।’
उनले निर्वाचनअघिको गठबन्धन ब्युँतिएकाले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँच वर्ष टिकाएर लैजान पार्टीले भूमिका खेल्ने बताए । यस क्रममा उनले बारा २ को उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दिने कुरा स्वभाविक रहेको बताए ।