बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत

होमल्याण्ड खबर

२०७९ चैत्र १० गते, शुक्रबार १६:१५ मा प्रकाशित

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

११० सदस्यीय बागमती प्रदेश सभामा उनले ४ राजनीतिक दलको ६७ मत प्राप्त गरेका हुन्। माओवादीमा २१, कांग्रेसको ३७, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीका २ जनाले जम्मकट्टेलको पक्षमा मत दिए।

सरकारलाई समर्थन गरेका दलहरुले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले दोस्रो पटक विश्वासको मत लिएका हुन्।

फागुन १३ गते सरकारबाट बाहिरिँदै राप्रपाले सरकारलाई गरेको समर्थन फिर्ता लिएको थियो । एक महिनाभित्र दोस्रो पटक संसदबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले आज विश्वासको मत माग्ने प्रस्ताव पेस गरेका थिए।

जम्मकट्टेल पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
आलोपालो मुख्यमन्त्री बन्ने सहमतिका साथ कांग्रेसले विश्वासको मत दिएको कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले बताए।