साबिककै मन्त्रालय नपाए रास्वपा सरकारमा नजाने

होमल्याण्ड खबर

२०७९ चैत्र १२ गते, आईतवार १४:२८ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुनका लागि साबिकका मन्त्रालयहरू पाउनुपर्ने अडान लिएको छ । यसअघि पुस १० गते प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाँदा पाएका ३ मन्त्रालयमा दावी रहेको अडान रास्वपाले लिएको हो

यसअघि रहेको रास्वपाले गृह मन्त्रालयसहित शिक्षा, स्वास्थ्य र श्रम मन्त्रालय पनि पाएको थियो । साथै, स्वास्थ्य राज्यमन्त्री पनि पार्टीको भागमा परेको थियो ।

सभापति रवि लामिछानेको नगरिकता विवादका काराण समर्थन कायमै राख्दै सरकारबाट बाहिरिएको रास्वपाले फेरि पनि तीनै मन्त्रालय पाए मात्रै पार्टी सरकारमा जाने ढोका खुल्न सक्ने प्रवक्ता डा. मुकुल ढकालले बताए । ‘यदि हामीले पहिले पाएको मन्त्रालयमा कुनै तलमाथि हुन्छ भने हामी सरकारमा सहभागी हुन सक्दैनौं,’ डा. ढकालले भने ।

तर, प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालय आफ्नै पार्टीसँग राख्ने तयारी गरेका छन् । अहिले सरकारमा भौतिक योजनामन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई गृहमा सार्ने उनको योजना छ । प्रवक्ता ढकालले यस विषयमा आफूहरूलाई कुनै आधिकारिक जानकारी नरहेको बताए ।

मन्त्रालय भागबन्डा टुंग्याउन आज गठबन्धन बैठक बस्दैछ । भोली (सोमबार)सम्म मनत्रीपरिषद विस्तार गरिसक्ने तयारी गरिरहेका प्रधानमनत्री प्रचण्डले आजको बेठकमा मन्त्रालय भागबण्डाको प्रस्ताव पेस गर्नेछन् । तर रास्वपा भने यो बैठकमा सहभागी नहुने प्रवक्ता डा. ढकालको संकेत छ । यदि गठबन्धनको बैठकमा बोलाइयो भने पार्टीले आवश्यक निर्णय लिने उनको भनाई छ ।

रास्वपाले सरकारमा जाने शर्तका रूपमा केही सैद्धान्तिक विषयहरू पनि उठाएका छ । यसअघि आफ्नो पार्टीका तर्फबाट सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश गरिएका एजेन्डाहरूलाई निरन्तरता दिनुपर्ने अडान पार्टीको छ ।