३ चैत्र २०८२, मंगलवार
प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसद्को विजनेशबारे कुराकानी भएको थियो ।
सरकारले संसद्मा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेस गरेको छ ।


त्यो विधेयकमा आइतबारबाट संसद्मा सैद्धान्तिक छलफल सुरु भएको छ । त्यसमा सत्तापक्ष र प्रतिपक्षबीच मतभेद देखिएका छन् । यसबारेमा प्रधानमन्त्री र सभामुखबीच कुराकानी भएको निकटस्थ स्रोतले बतायो ।
सभामुखको तजबिजी अधिकार कटौती गर्ने सत्ता गठबन्धनको तयारीका विषयमा सभामुख घिमिरेले चासो राखेको स्रोतले बतायो ।
६ चैतमा प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ को मस्यौदा प्रतिवेदन पेश भएको थियो । त्यसमा १५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।
जसमा विगतमा सभामुखले प्रयोग गर्दै आएका तजबिजी अधिकार कटौती गर्ने’ संशोधन प्रस्ताव सत्तारुढ दलहरुका सांसदहरुबाट परेको छ ।