यो वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि सुरु हुने

होमल्याण्ड खबर

२०७९ चैत्र १३ गते, सोमबार ११:२२ मा प्रकाशित

प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर जात्रा मनाइन्छ । जात्राका लागि अत्यावश्यक रहेको भैरव र भद्रकालीको रथ निर्माण सुरु भएको छ ।

टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा एक महिना अगाडिदेखि रथ निर्माणका लागि बिभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्रा बनाउने, बिग्रिएका सामानको मर्मत गर्ने, बुट्टा बनाउने कार्य भइरहेको गुठी संस्थान भक्तपुरको प्रमुख खिमा वलीले जानकारी दिइन् । उनका अनुसार नयाँ काठ किनेर एउटा नयाँ पाङ्ग्रा निर्माण गरिएको र अरु पाङ्ग्रा मर्मत गरिएको छ भने १६ गतेदेखि भैरवको रथको पाङ्ग्रा र विभिन्न पाटपुर्जा जडान गर्दै करिब २३ गतेसम्म प्यागोडा शैलीको तीन तले रथ निर्माण सम्पन्न गरेर रङरोगन गरिने छ ।