बिहानैदेखि मिटरब्याज पीडितको विरोध प्रदर्शन

होमल्याण्ड खबर

२०७९ चैत्र १४ गते, मंगलवार ०९:२१ मा प्रकाशित

मिटरब्याजी पीडितहरूले आज बिहानैबाट विरोध प्रदर्शन सुरु गरेका छन् । पीडितहरूले आज बिहानैदेखि काठमाडौंको टंगालमा विरोध प्रदर्शन गरेका हुन् ।

महोत्तरीबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरूले सोमबार खुलामञ्चअघि प्रदर्शन गेका थिए । आज त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा विरोध प्रदर्शन गरेका हुन् ।

पीडितहरू खुलामञ्चमा बस्न आए पनि काठमाडौं महानगरपालिकाको नगरप्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि उनीहरू खुलामञ्च बाहिरको सडकमा सोमबारको रात बिताएका थिए ।

पीडितहरूले महानगरपालिकाले खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन साहबिरुद्ध नाराबाजी समेत गरेका थिए । उनीहरूले ‘मिटरब्याजीलाई कारबाही गर्’, ‘पीडितलाई न्याय दे’, ‘तमसुक व्यवस्था खारेज गर्’ लगायत नारा लगाउँदै प्लेकार्ड बोकेर बिरोध गरेका छन् ।